‘कथा काठमाडौं’ को तारिफ, विवादमा नआएको भए? − Kalakarita
‘कथा काठमाडौं’ को तारिफ, विवादमा नआएको भए?

सोमबार, असोज १५, २०७५, ०५ : २४कलाकारिता

काठमाडौं, १५ असोज  नेपालमा फिल्म हल्लैले बढी चल्ने गर्छन् । कैयन् फिल्म झुर हुन्छन् । न अभिनयको तादात्म्यता मिलेको हुन्छ, न कथा नै मिलेको हुन्छ । तर पनि फिल्म चल्छन् । दर्शकले हल भरिन्छन् । फिल्म खासै राम्रो भए पनि फिल्म हेर्न पुगेका कलाकारले ‘राम्रो छ’ भनेर बनावटी प्रतिक्रिया दिँदा दर्शकले कलाकारको कुरा पत्याउन छोडिसकेका छन् ।

यतिबेला भने ‘कथा काठमाडौं’ ले साँच्चिकै दर्शक तथा कलाकारबाट समेत तारिफ पाएको छ ।

आइतवार काठमाडौंस्थित कुमारी हलमा चलचित्र ‘कथा काठमाडौं’ को प्रेस शो राखिएको थियो । उक्त शोमा सिनेमा क्षेत्रका चर्चित कलाकारको उपस्थिति थियो । चलचित्र हेरिसकेपछि कलाकार तथा पत्रकारले ‘कथा काठमाडौं’ राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

फिल्म हेरिसकेपछि निर्देशक प्रदीप भट्टराईले फिल्म आफूलाई मन परेको बताए । ‘यस्ता फिल्म हेर्न पनि हिम्मत जुटाउनुपर्छ, यो सिनेमा राम्रो बनेको रहेछ, कलाकारको अभिनय स्तरीय छ ।’, उनले भने, ‘पछि सम्झँदा राम्रो फिल्ममा यो फिल्म आउन सक्छ ।’

यस्तै नायिका पूजा शर्माले फिल्मले आफ्नो मन जितेको बताइन् । ‘फिल्मका बारेमा अनेक टिप्पणी भएका थिए, तर त्यस्तो पाइन, परिवार नै आएर हेर्दा पनि हुन्छ, सन्देश पाइन्छ’, पूजाले भनिन्, ‘मलाई चाहिँ फिल्म चित्त बुझ्यो ।’

पूजाले पनि अभिनयको तारिफ गरिन् । यस्तै उनले सिनेमा हेर्न प्रियंका कार्कीको निमन्त्रणामा आएको बताइन् । फिल्म शुरु हुनभन्दा धेरै पहिले नै उनी हल आइसकेकी थिइन् ।

फिल्मको बारेमा प्रतिक्रिया दिँदै हास्यकलाकार द्वय जितु नेपाल र केदार घिमिरेले पनि खुलेर विरोध गरे । तर, दुवैले पूरै फिल्म हेर्न नपाएको पनि बताए । केदार घिमिरे (माग्ने बूढा) ले भने, ‘हामीले प्रियंका र प्रमोदको पार्ट नै हेर्न पाएनौं, तर हेरेका आधारमा फिल्म राम्रो छ ।’

फिल्म हेर्न आएका धेरैले चाहिँ प्रमोद अग्रहरी र प्रियंका कार्कीको अभिनयको तारिफ गरेका थिए । यस्तै अर्की अभिनेत्री प्रेक्षा अधिकारीको पनि अभिनयको तारिफ भयो ।

चलचित्रको कथानक र बुनोटलाई भने कतिपयले कच्चा समेत भने । फिल्म हेरिसकेपछि एक पत्रकारले भने, ‘कथामा अलि ध्यान पुगेन जस्तो लाग्यो, तर फिल्मको मेकिङलाई त्यति झुर भन्न मिल्दैन ।’

प्रेश शो मा कलाकार दीपकराज गिरी, अशोक शर्मा, दीपेन्द्र के, खनाल, जितु नेपाल, प्रदीप भट्टराई, आकाश अधिकारी, वर्षा राउत, पूजा शर्मा लगायत उपस्थित थिए भने फिल्मकी निर्देशक संगीता श्रेष्ठ, संजोग कोइराला, पिंयका कार्की, सन्ध्या केसी, प्रमोद अग्रहरी लगायत उपस्थित थिए ।

विवादमा नआएको भए के हुन्थ्यो?

फिल्म हेर्न आएका कतिपयले विवादमा नआएको सिनेमाले अर्कै हाइप लिनसक्ने धारणा राखे । फिल्ममा राम्रोभन्दा नराम्रो कुराको चर्चा भएपछि राम्रो पक्ष ओझेलमा पर्न गएको पनि बताइयो । चलचित्रमा तीन उप–कथालाई एउटै फिल्ममा कथा बनाएर देखाउन खोजिएको छ । अभिनय र मेकिङमा फिल्म ठीकै देखिए पनि कथामा भने फिल्म धेरै ठाउँमा चुकेको छ ।

भिडियो रिपोर्टः

पछिल्लोपल्ट शनिबार, असोज २७, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया