‘एकल लोकगीत प्रतियोगिता’ जितेका रामकुमार नेपाली भन्छन्ः नेपाल आइडलमा भाग लिन्नँ (भिडियो)


काठमाडौं, २५ असार – रामेछापबाट चर्चित गायक बन्ने सपना देखेर काठमाडौं हानिएका थिए रामकुमार नेपाली ।
उनको त्यो सपना आधा पूरा भएको छ । आधा बाँकी नै छ । यही क्षेत्रमा निरन्तर लागिपरेका छन् उनी ।
०७२ सालको बैशाखमा आएको भूकम्पले आफैले खोलेको दोहोरी साँझ क्षतिग्रस्त बनाइदियो । उनको रुचिलाई भने केही गर्न सकेन ।
केही दिनअघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको एकल लोकगीत प्रतियोगितामा झण्डै सात सय प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम बनेपछि भने यतिबेला चर्चामा छन् उनी ।
निरन्तर दोहोरी तथा लोकगीतकै क्षेत्रमा लाग्ने बताउने रामकुमारले आफूले लोकगीत मात्र नभएर सबै खाले गीत गाउँछन्। ‘सबै टाइपका गीत गाउने गरेको छु, जुनै गीत गाउन पनि उस्तै लाग्छ’, कलाकारितासँगको कुराकानीमा उनले भने ।
प्रतियोगिता जितेपछि आफूलाई कैयन् गीत गाउने प्रस्ताव आएका पनि रामकुमारले बताए ।
तर बिडम्बना के छ भने, लोकगीतका कार्यक्रमले खासै महत्त्व पाउँदैनन् । जसका कारण ठूला कार्यक्रम भएपनि त्यति चर्चा हुँदैन ।
एकल लोकगीत प्रतियोगिता प्रथम भएर नगद रु. एक लाख पुरस्कार पाएका रामकुमारले आफू यही क्षेत्रमा निरन्तर रुपमा लाग्ने बताए ।
‘अब यही क्षेत्रमै निरन्तर लाग्छु, अरु क्षेत्रमा गयो भने फेरि मैले शुरूबाटै काम थाल्नुपर्छ, जानेको क्षेत्र पनि यही हो ।’, उनले भने ।
‘पहिलो नेपाली तारा भएपछि व्यस्तता केही बढेको छ, प्रथम भएपछि अब यसले गाउने गीत कस्तो होला भन्ने पनि धेरैलाई लागेको छ’, उनले थपे, ‘अब एकदमै विचार गरेर सकभर सुन्दर गीत निकाल्ने तयारीमा छु ।’
काठमाडौंको दरबार रोधी घरमा भेटिएका रामकुमार नेपालीले झण्डै डेढ दशक यो क्षेत्रमा बिताएको बताए । लोकगीतसँगै आधुनिक तथा अन्य गीत पनि गाउने रामुकमारले आफूले एसएलसीपछि संगीत पढेको बताए । ‘धेरैले स्वरको तारिफ गरिदिनुहुन्छ, गीत गाएर एउटा ज्यान पाल्नलाई खासै गाह्रो छैन’, उनले ।
हातमा हार्मोनियम लिँदै उनले वरिष्ठ गायक कुमार बस्नेतको गीत पनि सुनाए – छोरीभन्दा आमा तरुनी…
साथै उनले अश्लील गीत नगाउने पनि बताए । ‘विकृति भनौं कि समयको माग, गीतको स्तर खस्केकै हो, मैले भने अश्लील शब्द भए गीत नै नगाउने योजना बनाएको छु, लोकगीतको जगेर्ना गर्ने मेरो पनि कर्तव्य हो ।’, उनले थपे ।
लोकगीतमा प्रथम भएका रामकुमार नेपालीलाई नेपाल आइडलमा भने भाग लिन खासै रुचि छैन । नेपाल आइडलमा भाग लिने या नलिनेबारे बोल्दै उनले भने, ‘नेपाल आइडलमा चाहिँ भाग लिन्नँ, त्यहाँ गाउने गीतको प्रकृति केही फरक पनि हुन्छ, मलाई लोकगीत क्षेत्रले नै चिनाएको छ ।’