पोखरा, २९ जेठ – पोखराको गैह्रापाटनस्थित गन्धर्व थिएटरमा नाजिर हुसेन निर्देशित नाटक ‘कुरुप हाँस’ मञ्चन हुने भएको छ । पोखरामा तीन दिन नाटक मञ्चन गर्नका लागि नाटकको टिम यतिबेला पोखरा पुगेको छ ।
यसअघि यो नाटक काठमाडौंको मण्डला थिएटरमा मञ्चन भएको थियो । डेनिस लेखक हेन्स क्रिश्चियन एन्डरसनको कथा अग्ली डकलिङमा आधारित यो नाटकमा सेता हाँस र कालो हाँसबीचको विभेदलाई बिम्बात्मक रुपमा प्रस्तुत गरिएको छ । नाटकको माध्यमबाट समाजमा देखिएका विभेदलाई उठान गरिएको छ ।
घरबाट गाउँ हुँदै तलाउको किनारमा पुगेर कालो रंगमै आफ्नो सुन्दरता भेट्ने कुरुप हाँसको कथा भन्नलाई निर्देशन नाजिर हुसेनले डान्स शैलीलाई अपनाएका छन् ।
संवादको प्रयोग नगरिएको यो नाटकलाई सांगीतिक नाटक भनिएको छ । नाटकमा नाजिर हुसेन, मिलन कार्की, विनिता गुरुङ, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ, विजया कार्कीले अभिनय गर्नेछन् ।
यही असार १ गतेदेखि ३ गतेसम्म चल्ने यो नाटक दिउँसो १ बजे र साँझ ५ः३० बजे नियमित मञ्चन हुनेछ । टिकटको मूल्य विद्यार्थीका लागि २ सय र सामान्य टिकटका लागि ५ सय तथा १ हजार राखिएको छ ।
तपाईंको प्रतिक्रिया