म ‘हतियार’ बन्ने कोशिशमा छुः रेखा थापा − Kalakarita
म ‘हतियार’ बन्ने कोशिशमा छुः रेखा थापा

बिहीबार, साउन १०, २०७५, ०५ : ३४कलाकारिता

-रेखा थापा

काठमाडौं, १० साउन – विगत लामो समयदेखि मैले नारीलाई उत्थान गर्ने र उकास्ने खालका चलचित्र निर्माण गर्ने गरेकी छु । व्यवसायिक रुपले होस् या मनोरञ्जनात्मक रुपले जुन तरिकाले भएपनि पछिल्लो फिल्म ‘मालिका’ सम्म आउँदा धेरै नै गम्भीर भएर समाजका विषयमा लागेकी छु ।

म चाहन्छु, मैले बनाएका फिल्मले समाज परिवर्तनका लागि भूमिका खेलून् ।

धेरै ठाउँमा पुग्दा, बुझ्दा नेपाली चलचित्रले देशको हरेक क्षेत्रलाई समेटेको छ कि छैन भनेर प्रश्न उठ्थ्यो ।

महत्वपूर्ण कुुरा त यो छ कि, जसरी शैक्षिक क्षेत्र, राजनीतिक क्षेत्र, स्वास्थ्य क्षेत्र अथवा कुनै पनि क्षेत्रले राज्यलाई केही दिऊँ भनेर योगदान गर्छ भने हामी चलचित्र क्षेत्रमा सक्रिय कलाकार मनोरञ्जन मात्रै भनेर किन अलमलिने?

यसको साथसाथै फिल्ममार्फत हामीले देशलाई उठाउनका लागि केही पहल गर्न सक्छौं ।

एउटा कुनै दुर्गम गाउँकी गरीब महिलाले नेपाली चलचित्रमा उठाएको विषयमा यो मेरो चलचित्र हो भन्ने अनुभूत गर्ने कि नगर्ने? र हामीले जुन विषयवस्तु उठाएको हुन्छौं र त्यो उठानलाई हामीले कसरी, कुन रुपमा हेरिरहेका छौं, सबैलाई एकै ठाउँमा राखेर हरेक चलचित्रलाई एउटै दृष्टिकोणबाट मात्रै हेर्नु कत्तिको उपयुक्त होला ?

मैले सधैभरि रेखा फिल्मस् स्थापना कालदेखि नै नारी सशक्तीकरणको विषयमा जोड दिइरहेकी थिएँ, नारीहरु आफ्नै अस्तित्वमा जिउनुपर्छ भनेर जोड दिएकी थिएँ ।

हो, त्यो बेला पनि धेरै आलोचना भोग्नुप¥यो तर त्यही आलोचना मेरो मार्गदर्शन बन्न पुग्यो ।

जस्तो फलाममा हतियार राखिसकेपछि मात्र त्यसले कुन रुप लिन्छ भन्ने कुरा तय गर्छ । म अहिले हतियार बन्ने कोशिशमा छु र हतियार बनाउने पनि कोशिशमा छु, ती नारीहरुलाई जुन ढिक्का हामीले पछाडि छाडेका छौँ । आधा आकाश ढाकिएका नारीहरु छन् हाम्रो देशमा ।

अझैपनि हामी आर्थिक समृद्धिको कुरा गर्छाैं र अहिलेपनि चलचित्र क्षेत्रलाई नै जोडेर हेर्ने हो भने कति प्रतिशत महिलाहरु स्व–अस्तित्वमा बाँचिरहनुभएको छ । आफ्नो काँधमा जिम्मेवारी लिएर अघि बढ्नुभएको छ या छैन, यो सबैलाई थाहा छ ।

देशकै कुरा गर्दा हामी आर्थिक समृद्धिको कुरा गर्छौं, स्व–अस्तित्वको कुरा गर्छौ, नारीको हकहितको कुरा गर्छौ । तर, दुर्गम ठाउँका ती गरीब छोरीहरुले त्यो समृद्धिको अनुभव गरेका छन् त ?

सधैभरि मेरो उद्देश्य र लक्ष्य नारीलाई सशक्त बनाउनु हो, मार्गदर्शन दिनु हो । चलचित्रका माध्यमबाट मैले त्यही गरें, जुन आवश्यक थियो ।

यसलाई गम्भीर रुपले लिइयो कि मनोरञ्जनात्मक रुपले लिइयो अथवा सन्देशमूलक हिसाबले लियो, त्यो अर्को कुरा भयो । म जति ठाउँमा गएँ, जतिलाई भेटें । कुरा गरें । उहाँहरुले त्यही अनुपातले फिल्मलाई लिएको देखेर झन् उत्साह जाग्यो । मेरो आग्रह यो पनि हो,

आजको पुस्ताले चलचित्र क्षेत्रलाई मनोरञ्जनमा मात्र नअल्झेर देशलाई हाम्रो देशबाट केही सहयोग गरौँ । यो क्षेत्र निकै हल्का रुपमा मात्र आइरहेको छ । किनभने हामीले कुन क्षेत्रको विषयलाई लिएको छौं त? खाली मनोरञ्जनको क्षेत्रका रुपमा पो समेटेका छौं कि?

हामी एकदमै धेरै जिम्मेवारी मान्छे हौँ भन्ने हामीले किन भुलिरहेका छौं? हाम्रो पर्दामा देखिएका विषयवस्तुले एउटा मान्छेको जीवन परिवर्तन हुन सक्छ । त्यो अभियानमा म विगत १८ बर्षदेखि लागिरहेकी छु । म आफ्नो स्व–अस्तित्वमा बाँच्न चाहने नारी हो ।

नारी अस्तित्वको लडाइँमा म १८ वर्षदेखि लँड्दै आइरहेकी छु । किनकि, यो देशको परिवर्तनका लागि मेरो पनि कुनै भूमिका हुनुपर्छ । हामी सबैको भूमिका हुनुपर्छ ।

पछिल्लोपल्ट शुक्रबार, साउन ११, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया