आर्यन र साम्राज्ञीको ‘रिल जोडी’ (फोटो फिचर)


काठमाडौं, ३२ असार – यतिबेला नेपाली फिल्म वृत्त कायरामय बनेको छ । रिलिजको तयारीमा रहेको ‘कायरा’ मा मुख्य भूमिकामा छन् – आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह ।
यो रिल जोडी उमेरको हिसाबले दश/पन्ध्रको फरक छन् । तर फिल्ममा भने जोडी सुहाएको छ । ट्रेलर तथा गीतमा फ्यानले आर्यन र साम्राज्ञीको जोडी सुहाएको प्रतिक्रिया पनि दिइरहेका छन् ।
आर्यनको फिल्म ‘मेरो एउटा साथी छ’ रिलिज हुँदा साम्राज्ञीले आठ कक्षामा पढ्थिन् । अहिले भने यी दुवैले एकसाथ फिल्म खेलेका छन् त्यो पनि जोडी बनेर ।
काठमाडौंमा भेटिएका आर्यन र साम्राज्ञीले रिलिजको तयारीमा रहेको फिल्म कायराका बारेमा खुलेरै कुरा गरे । साम्राज्ञीले यो फिल्ममा काम गर्न निकै नै सहज भएको बताउँदै थिइन् ।
‘खै किन हो, यो फिल्ममा काम गर्न मलाई धेरै सजिलो भयो, फिल्म गर्दाको अनुभव सुनाउने हो भने त त्यो समय कति छिटो बित्यो भन्ने नै याद भएन’, साम्राज्ञीले मुस्कुराउँदै सुनाइन्, ‘स्किृप्ट मलाई यति पावरफूल लाग्यो कि, कथा सुन्दा मैले इग्नोर गर्नै सकिन ।’
त्यस्तै अभिनेता आर्यन सिग्देलले पनि आफूलाई साम्राज्ञीसँग काम गर्दा रमाइलो लागेको बताए । ‘कथा नयाँ छ, लोकेशनले नै विदेश मागेको भएर हामीले फिलिपिन्समा शूटिङ गरेका हौं, दर्शकले मलाई लभ स्टोरी फिल्ममा चाहनुभएकाले फेरि लभस्टोरी फिल्ममै फर्किएको हुँ,’, उनले भने, ‘भोलि दर्शकले एक्सन फिल्मको माग गर्दा त्यस्तै फिल्ममा आउन सकिन्छ ।’
साउन १८ गते रिलिज हुने यो फिल्ममा आर्यन र साम्राज्ञीको जोडी छ । साथै यो फिल्म रिलिजअघि नै चर्चामा छ ।
यो फिल्मको कथा आर्यन सिग्देलले लेखका हुन् भने केदार भुसालले पटकथा तथा संवाद लेखेका छन् । फिल्मलाई लक्ष्मण रिजालले नै निर्माण गरेका हुन् भने सह–निर्मातामा दिनेश थापा र दिवस पराजुली छन् ।
त्यस्तै फिल्ममा वनिष शाह र मिलन श्रेष्ठको सम्पादन, प्रविण सिंहको कोरियोग्राफी, अर्जुन पोखरेल, कोशिश क्षेत्री र कल्याण सिंहको संगीत रहेको छ ।
फिल्म साउन १८ गते रिलिज हुँदैछ ।
तस्वीरः अर्घेलो थापा