सामाजिक ‘इस्यु’ मा फिल्म बनिहाले पनि अतिरञ्जित गरिन्छः नरेशकुमार केसी

बुधबार, साउन १६, २०७५, ०९ : ५५कलाकारिता

काठमाडौं, १६ साउन – नरेशकुमार केसीले यसअघि फिल्म ‘निभ्न लागेको दियो’ निर्देशन गरेका थिए । फिल्मले दर्शक खासै तान्न नसकेपनि विभिन्न फेस्टिभलमा सहभागी जनाएर राम्रो प्रतिक्रिया बटुल्यो । अर्कातिर समीक्षात्मक रुपमा पनि फिल्मको तारिफ गरियो ।

सामान्य कथामा अब्बल प्रस्तुति दिएर चर्चामा आएका निर्देशक केसी यतिबेला चर्चामा छन् । उनले निर्देशन गरेको दोस्रो फिल्म ‘रोमियो एण्ड मुना’ सिनेमा घरमा प्रदर्शन भइरहेको छ । फिल्मले औसत प्रतिक्रिया पाएको छ । यसपटक पनि उनले सामान्य कथा नै लिएका छन् । तर, कथाको प्रस्तुतीकरण केही भिन्नै तरिकाले गरेका छन् । यसैबीच हामीले निर्देशक केसीलाई सिनेमाकै सेरोफेरोमा रहेर केही प्रश्न सोधेका छौं ।

‘रोमियो एण्ड मुना’ हेरेर दर्शकले गज्जब भन्ने कुरा के छ फिल्ममा?

गज्जब भनेर त्यस्तो गजब केही गरेका छौं भन्ने त लाग्दैन । तर, हामीले जुन पटकथा तयार पारेका छौं, त्यसको प्रस्तुतीमा ध्यान दिएका छौं । आर्ट र कमर्सियल दुवै खाले फिल्म मन पराउने दर्शकलाई हलसम्म ल्याउने प्रयास गरेका छौं । फिल्म हेरेर दर्शकले रुचाउुनभएको पनि छ । पटकथाअनुसार फिल्मको भिजुअल स्टोरीलाई पात्रमा उठाउने प्रयास गरेका छौं । नेपालमा जुन खालको फिल्म बनिरहेको छ, त्यसका आधारमा केही हदसम्म पृथक छ ।

नेपालमा जुन फिल्म चल्यो, त्यही खालको अरु फिल्म निर्माण भइरहेको हुन्छ, फरक खालको फिल्म निर्माण गर्न खोजिँदैन । किन होला?

हाम्रै छिमेकी देश भारतको बजार हे–यो भने पनि त्यहाँ सबै खाले फिल्मले दर्शक पाएका हुन्छन् । त्यहाँका सबै खालका विषयका फिल्म निर्माण भइरहेका हुन्छन् र दर्शकले साथ पाएका हुन्छन् । भारतमै हेर्ने हो भने पनि सलमान खानका फिल्महरुले पनि दर्शक पाउँछ । ‘मसान’ जस्तो फिल्मले पनि दर्शक पाउँछ । त्यहाँ उडान, मसान जस्ता फिल्मले पनि दर्शक पाउन थाले ।

नेपालमा पनि फरक खालका फिल्म हेर्ने दर्शक नभएको होइन, कम दर्शक मात्र भएको हो । शायद हल गाउँमा नपुगेर, संख्या नै न्यून भएको र हो कि । यही कारणले नै विभिन्न जानराका फिल्म, साइन्स फिक्सनका फिल्म बन्न नसकेका हुन् । होइन भने ५५ वर्ष पुरानो नेपाली फिल्म इतिहासमा हामी उनै चलचित्रमा अल्झिँदैनथ्यौं होला ।

पछिल्लो केही समयलाई हेर्ने हो भने नेपाली फिल्मले लामो समयदेखि दर्शक पाएका छैनन् । के यसको कारण राजनैतिक परिवर्तन र देशको परिस्थितिले हो?

खै ! मैले राजनीति त्यति नबुझ्ने भएर होला । राजनीतिले फिल्मलाई त्यति असर पारेको जस्तो लाग्दैन । देशको अस्थिरताले पनि केही दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन गर्ने वातावरण नमिलेको हुनसक्छ । किनकि, दर्शक पनि अरु कुरामा खुशी हुनुहुन्छ भने बल्ल मनोरञ्जनका लागिसमय छुट्याउनुहुन्छ । यदि सबै आफ्नो जीवनको तनावमा हुनुहुन्छ भने फिल्म क्षेत्रका लागि समय छुट्याउनुहुन्न ।

किनकि, मनोरञ्जन प्राथमिक आवश्यकता होइन । पहिले गास, बास र कपास नै हो । देशमा अस्थिरता छन्, यसले जनजीवनमा असर पार्छ ।

देशको अन्य क्षेत्र विकसित हुँदै गयो भने फिल्म क्षेत्रको अवस्था कस्तो बन्दै जाला?

देशको अन्य क्षेत्रमा सुधार हुँदै गयो भने सिनेमा पनि सँगै एउटै तहमा विकास भइरहेको हुन्छ । हामीले विदेशमा हे–यौं भने पनि फिल्म पछाडि परेको र अन्य कुरा अगाडि गएको भन्ने हुँदैन । समाजसँगै सबै पक्षहरु समानान्तर रुपमा अगाडि बढ्दै जाने हुन् ।

छिमेकी देश भारतमा पनि राजनीतिलाई घोचेर पेलेर, गाली गरेर राजनैतिक विचार दिने र जनतालाई सचेत बनाउने फिल्म बनेका छन्, नेपालको र भारतको राजनैतिक प्रवृत्ति मिल्छ पनि । तर नेपालमा त्यस्ता फिल्म किन बन्न नसकेका होलान्?

नेपालमा राजनीतिमा मात्र होइन, धेरै सामाजिक इस्युमाथि फिल्म बन्दैनन् । बनिहाले भनेपनि ती इस्युलाई अतिरञ्जित गरिन्छ । हामीसँग अस्पताल, राजनीति, पोर्ट हाउस, गाउँका सामाजिक कथामा पनि फिल्म छैनन् । सामाजिक फिल्मका लागि दर्शक पनि तयार हुनुपर्छ । मेकर्स पनि समाजप्रति उत्तरदायित्व हुन जरुरी छ । मेकर्सले आफूलाई ‘आयुर्वेदिक पसल खोलेको हो र समाजप्रति उत्तरदायित्त्व देखाउन?’ भन्ने विचार भएसम्म यस्ता सामाजिक इस्युमा फिल्म बन्दैनन् ।

भारतमा हेर्ने हो भने प्याडम्यान, ट्वाइलेट एक प्रेम कथा, थ्री इडियटस् जस्ता फिल्म बनेर पनि सफल भएका छन् । तर नेपालमा यस्ता फिल्म बनाउन निर्माता आफै तयार छैनन् । जबसम्म राज्यको व्यवस्थाप्रति उत्तरदायी हुनुपर्छ भन्ने सोच आउँदैन तबसम्म यस्ता समस्या रहन्छन् ।

विदेशी सिनेमाले आफ्नो संस्कृतिलाई कुनै न कुनै माध्यमबाट फिल्ममा प्रस्तुत गरेका हुन्छन् । भारतीय फिल्म हे–यो भने पनि त्यस्तो देख्न पाइन्छ, हाम्रोमा त्यो प्रयोग किन हुन नसकेको हो?

संस्कृतिको रुपमा हामी अझै पनि तुलना गर्न सक्ने अवस्थामा भने छैनौं । हाम्रो सिनेमाको इतिहास आधा शताब्दी पुग्न लागेपनि बीचमा आएका राजनैतिक परिवर्तनले फिल्म सधै पछाडि नै रह्यो । भारतको सिनेमाको इतिहास लामो छ । हाम्रो फिल्म क्षेत्र देशको अवस्था अनुसार स्थूल हुने मौका पाएन । दश वर्षे जनयुद्धका बेला भएका हल पनि भत्काइए । अहिले बल्ल फिल्म क्षेत्र उठ्न थालेको छ । तर हाम्रोमा जानराको विकास भने हुन सकेको छैन । कथा भन्ने प्रयास भएको छैन । त्यस्ता कथा भन्नलाई राज्यका निकायले कुनै चासो देखाएका छैनन् । पछि गएर फिल्म राज्यकै आर्काइभ बन्न सक्थे । अहिले हामीले उठाएका धेरै विषय हाम्रो समाज होइन । हामीले नेपाली सिनेमा बनाइरहेका छौं भने नेपाली माटो र संस्कृति झल्कियोस् भन्ने चाहिँ हो ।

‘रोमियो एण्ड मुना’ मा आफ्नोपन छ?

छ । केही हदसम्म छ । मैले भनेर भन्दा पनि दर्शकले हेरेर नै भन्ने कुरा हो यो ।

नेपालमा प्रायः दर्शक हँसाउने खालका फिल्म हिट हुन थालेका छन् । तर, तपाईं त ‘रोमियो एण्ड मुना’ मा सिग्मण्ड फ्रायडको इद, इगो र सुपरइगोको सिद्धान्तलाई जोड्नुभएको छ । दर्शकले बुझ्नुहुन्छ?

केही दर्शकले नबुझ्न सक्नुहुन्छ । तर, बुझ्दै नबुझ्ने भन्ने पनि हुँदैन । भिजुअल्ली हेर्दाखेरी दर्शकले फिल्मको कथासँगै आफै बुझ्नुहुन्छ ।

अन्तिममा ‘रोमियो एण्ड मुना’ ले राम्रै प्रतिक्रिया पाइरहेको छ । फिल्म हेर्न नआएका दर्शकलाई के भन्न चाहनुहुन्छ?

प्रेमकथा मन पराउने दर्शकले फिल्म हेर्नुस् । फिल्म राम्रो छ, हामीले नयाँपन दिन खोजेका छौं कथालाई न्याय दिन सकियोस् भनेर झण्डै तीन वर्ष खर्च गरेका छौं । प्रेमकथा पनि छ, मेटाफोर र आन्तरिक द्वन्द्व पनि छ । दर्शकले केही नयाँपन पक्कै पाउनुहुनेछ ।

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।