मलाई अवार्ड चाहिँदैन: खगेन्द्र लामिछाने − Kalakarita
मलाई अवार्ड चाहिँदैन: खगेन्द्र लामिछाने

बुधबार, वैशाख १२, २०७५, ०८ : ५८कलाकारिता

काठमाडौं, १२ वैशाख – यतिबेला अभिनेता खगेन्द्र लामिछानेलाई भ्याइ नभ्याइ छ । आफूले लेखेको र मुख्य भूमिकामा अभिनय गरेको चलचित्र ‘डमरुको डन्डीबियो’ को रिलिज मिति नजिकिँदै छ । खगेन्द्रका लागि यो फिल्म किन पनि महत्त्वपूर्ण छ भने पहिलेका तुलनामा उनले यो चलचित्रमा केही भिन्दै भूमिका निर्वाह गरेका छन् । त्यसो त उनले रोजेका भूमिका सधै अरुभन्दा फरक हुने गर्छन् ।

नेपालको राष्ट्रिय खेलम थियो डन्डिबियो । तर, सरकारले अघिल्लो वर्ष यो खेललाई राष्ट्रिय खेलबाट हटाएर भलिबललाई राष्ट्रिय खेल घोषणा गरिदियो । डन्डिबियो खेलले आफ्नो मौलिकता मात्र होइन, कुनै समय पनि बोकेको थियो ।

जुन अब इतिहास बन्ने बाहेक अरु केही देखिएन । लोप हुँदै गएको यो खेललाई फिल्मले चिनारी दिन सक्छ भनेर खगेन्द्र कथा लेख्न जुटे ।
कथाका लागि अध्ययन गरे । डन्डीबियो खेलबारे अझ धेरै बुझे र कथा लेख्दै गए । फिल्म नयाँ विषयवस्तुमा बनोस् र मौलिक विषयवस्तुमा बनोस् भनेर उनले सोचिरहेका थिए ।

‘फिल्म कसरी बन्यो र त्यो बेलाको समयलाई मैले लेख्ने सोचिरहेको छु, लेख्यो भने त्यो एउटा उपन्यास जत्रै बन्ला, पाँच वर्षपछि फरक भूमिकामा देखिन लागेको छु, दर्शकले रुचाउनु हुनेछ भन्नेमा म ढुक्क छु’, खगेन्द्र भन्छन्, ‘मलाई त फिल्म खेल्छु भन्ने पनि लागेको थिएन, काठमाडौंबाट म लेखक बन्छु भनेर आएको थिएँ ।’

लेखनको रहर भने खगेन्द्रमा असीमित छ । उनी कथा पनि लेखेका छन् । नाटकमा पनि जमेका छन् । आफूले लेखेको नाटकको सङ्ग्रह ‘पानी फोटो’ पनि प्रकाशन गरेका छन् । आफ्ना नाटकमध्ये उनी आफैलाई मन पर्ने नाटक पनि यही पानी फोटो नाटक हो । ‘फुलानी’ मा कथाहरु समावेश गरेका छन् ।

आफ्ना फिल्ममा कथा पनि आफैले लेख्ने खगेन्द्रलाई चलचित्र ‘पशुपतिप्रसाद’ ले धेरै माथि पुर्‍याइदियो । धनपतिमा पनि उनले फरक विषय रोजे ।

यसपटक उनले लेखेको कथा केही भिन्दै छ । पहिले प्रायः वियोगान्त कथा लेख्ने गरेका खगेन्द्र यसमा अलि भिन्दै कथा लेखेका छन् कि भनेर धेरैलाई लागेको छ । तर उनले यो सस्पेन्स अहिले नै खुलाउन चाहन्नन् । ‘डन्डीबियोलाई पनि ठाउँअनुसार फरक नामले चिनिने रहेछ, हाम्रोतिर लौरीभट्टी भनिन्थ्यो, यो खेलको एउटा संघ पनि रहेछ’, उनी भन्छन्, ‘संघले बनाएको नियमका आधारमा मैले यसको कथा लेखेको छु, डन्डीबियो खेल कति रोचक छ भन्ने फिल्म हेरेपछि धेरैले थाहा पाउनुहुनेछ ।’

डन्डीबियोका ठाउँअनुसार आफ्नै नियम, आफ्नै नाम । तर मानक नाम – डन्डीबियो ।

कहिलेकाहीं उनलाई बलिउड अभिनेता आमिर खानसँग तुलना गरिन्छ । तर उनलाई यसरी तुलना गरेको पटक्कै मन पर्दैन । ‘दर्शकले मायाले कसैसँग तुलना गरिदिनुहुन्छ भने त्यो एउटा कुरा भयो तर म आफू ‘खगेन्द्र’ हुँ’, उनी अगाडि भन्छन्, ‘गाउँबाट काठमाडौं आएको एउटा केटो हुँ, जो लेखक बन्न काठमाडौं आएको थियो, उसका आफ्नै स्वभाव छन् ।’

लेखक बन्न आएको केटो अभिनेता? कहिलेकाहीं यही कुराले उनलाई बडो शान्ति दिन्छ । ‘सिनेमा र अभिनय मेरो लाइफको बोनस हो, म जतिमा खुशी हुन्थें, त्यतिमा खुशी छु, हो, म खास लेखक बन्नै आएको हुँ ।’, उनी भन्छन् ।

बोनसमा पाएको अभिनयले उनलाई कति अवार्ड दिलाएको छ । मूल्यांकन गराएको छ । तर उनी भने कुनै अवार्ड समारोहमा भाग लिँदैनन् । ‘म यसै यति धेरै खुशी छु कि कुनै अवार्डको आवश्यकता नै छैन, त्यसैले पनि म अवार्ड लिने गर्दिनँ’, खगेन्द्र भन्छन्, ‘मलाई दर्शकको विश्वास छ ।’

यसभन्दा अघि पनि फरक पात्रमा प्रस्तुत भएका खगेन्द्र यसपटक डमरु बनेर आउँदैछन् । फिल्मका लागि खेल सिक्न नै टिमलाई झण्डै एक महिना लागेको थियो । अहिले फिल्मको प्रचारमा खुलेरै लागेका खगेन्द्र सस्तो प्रचार भने गर्न नरुचाउने बताउँछन् । युट्युबमा भिडियो अन्तर्वार्ता समेत नदिने खगेन्द्र फिल्मकै पात्रबाट चिनिन चाहन्छन् । भन्छन्, ‘युट्युबमा भिडियो बिकाउन यस्ता हेडलाइन राख्नुहुन्छ कि, हामी आफैलाई हेर्दा अप्ठेरो लाग्छ ।’

पछिल्लोपल्ट सोमबार, वैशाख २४, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया