स्रष्टालाई रोयल्टी दिने संघभित्रै लफडा, पुन: निर्वाचनको माग − Kalakarita
स्रष्टालाई रोयल्टी दिने संघभित्रै लफडा, पुन: निर्वाचनको माग

सोमबार, चैत्र २६, २०७४, ११ : ००कलाकारिता

काठमाडौं, २६ चैत – संगीत उत्पादक समाजको निर्वाचनमा धाँदली भएको भन्दै संघमा आवद्ध ६४ जना सदस्यले आन्दोलन गरेका छन् । काठमाडौंको अनामनगरस्थित संघको कार्यालय परिसरमा जम्मा भएर विरोध जनाएका छन् ।

गत २३ गते शुक्रवार धाँदली निर्वाचन भइरहेका बेलामा गायिका शान्ता नेपालीको कार्ड बोकेर एक ब्युटिसियन भोट हाल्न आएको विषयलाई लिएर आन्दोलन भएको हो । संस्थामा उत्पादकभन्दा धेरै गैर-उत्पादक भएको भन्दै विन्दवासिनी म्युजिक प्रालिका सुवास रेग्मी सहितको प्यानल विरोधमा उत्रेको हो ।

साथै उनीहरुले निर्वाचन जस्तो स्वतन्त्र प्रणालीमा अरुलाई कार्ड दिएर भोट हाल्न लगाएको आफूहरुले पाएकाले प्रजातान्त्रिक मुलुकमा यस्तो गर्नु नहुने भन्दै पुनः निर्वाचनको माग गर्दै आन्दोलन गरेका छन् । निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका सुवास रेग्मीले महासचिव होम गैरेले भोट हाल्न लगाएको माफी मागेपनि संघको कार्यसमितिको पुनः निर्वाचन गरिनुपर्ने जिकिर गरे ।

‘हाम्रो माग के भने, रोयल्टी बाँड्ने संस्थामा नै गैर उत्पादक धेरै भए, अरु आएर भोट हाले, त्यसैले हामीले पुनः निर्वाचनको माग गरेका हौं ।’, रेग्मीले बताए ।

चुनावको दिन नै प्रतिलिपि रजिष्टारको कार्यालयमा उजुरी दिएपनि कार्यालयले उजुरी लिन मानेन । उजुरी लिन नमान्दा आन्दोलनमा उत्रिएका संघका सदस्यहरुले टेबलमै उजुरी पत्र छोडेर निर्वाचन बहिष्कार गरेका थिए ।

कलाकारका हितका लागि खोलिएको संस्था भनिएपनि पहिलेका वर्षमा पनि संस्थाले खासै उपलब्धीमूलक काम गर्न सकेको छैन । कार्यसमिति गठनमै धाँदली भएको भन्दै साठीभन्दा बढीले आन्दोलनका एजेन्डा बोक्दै हिँडेपछि समाजमा तनाव बढेको हो । दुवै पक्षबीच छलफल भएपनि निष्कर्षमा पुग्न सकेको छैन ।

यता आन्दोलनमा उत्रेका उत्पादक समाजका सदस्यहरु भने पुनः निर्वाचन नभएसम्म आन्दोलन नछोड्ने बताएका छन् ।


तपाईंको प्रतिक्रिया