तीन दिन र तीन रात लगातार अर्मलाको रोधीघरमा दोहोरी गाएर म पोखरा फर्किँदै थिएँ । घोडाभरी कोशेलीमा पाएका रक्सी भरिएका भाँडा थिए ।
बाटुलेचौरमा आइपुग्दा मलाई फेरि रक्सी थप्न मन लाग्यो । त्यतिबेला मैले खुबै रक्सी पिउने गर्थें ।
वरिष्ठ लोकगायक चेतन कार्कीले यसो भनिरहँदा उनको मन नोस्टाल्जिक भएर आफ्नो युवा उमेरमा पुगेको हुँदो हो ।
उनले त्यतिबेला आजभन्दा साठी वर्ष पहिलेको आफ्नो समय सुनाइरहेका थिए, जतिबेला लोकगीत मनोरञ्जनको माध्यम मात्र थिएन, जाति र संस्कृतिको पहिचानको बिम्ब थियो । सात दिन, सात रातसम्म पनि रोधीघरमा बसेर गीत गाउने बाक्लो चलन थियो त्यतिबेला । ‘त्यतिबेला मलाई नचिन्ने कोही थिएन, कास्की र वरपरका जुन गाउँमा कार्यक्रम भएपनि निमन्त्रणा आउँथ्यो ।’, कार्कीले जोशका साथ आफ्नो जवानी सुनाए ।
उमेरले असी टेकेका चेतन कार्कीसँग हामी उनको बारेमा भन्दा पनि अर्का अमर गायक झलकमान गन्धर्वलाई भेट्दाको समयबारे कुराकानी गर्न उनको काठमाडौंको पुल्चोकस्थित घरमै पुगेका थियौं ।
***
स्याङ्जामा जन्मेका चेतन कार्की देहरादुनमा हुर्के । पोखरामा फुर्के र अहिले काठमाडौंमा आफ्नो रिटायर जिन्दगी बिताइरहेका छन् ।
हे बरै, आमाले सोध्लिन् नि खै छोरा भन्लिन् रजा है खुल्यो भन्दिए…
यो गीत नसुनेका नेपाली शायदै छैनन् । जसले यो गीत सुनेका छन्, उनीहरुले झलकमान गन्धर्वकै मुखबाटै सुनेका छन् ।
चेतन कार्कीले त्यो गीत पहिले कसको मुखबाट सुने होलान् त?
‘पहिले दुर्गाबहादुर मिजारका मुखबाट त्यो गीत सुनेको हुँ, झलकमानलाई त मैले पछि गाउन लगाएको हुँ त्यो गीत ।’, कार्की भन्छन्, ‘त्यो गीत पनि कहाँ अहिले रेकर्ड भएको जस्तो थियो र? अलि फरक थियो नि ।’
अर्मलाबाट आफ्नो घोडा चढेर बाटुलेचौर आइपुग्दा उनलाई फेरि रक्सी थप्न मन लाग्यो ।
बाटुलेचौरमा टक्क घोडा रोके । त्यो बस्तीमा लस्करै बस्ती थियो । पूरै गन्धर्व बस्ती । त्यही बस्तीछेउमा एकजनालाई देखे कार्कीले । बोलाए ।
‘तेरो नाम के हो?’ – पोखराको फेवातालमा मत्स्यपालनका प्रमुख र त्यतिबेलाका चर्चित गायक कार्कीलाई जसले पनि चिन्थ्यो बाटुलेचौरमा ।
‘हजुर मालिक, मेरो नाम दुर्गाबहादुर मिजार ।’, जवाफ आयो ।
‘हेर्, मेरो घोडामा रक्सी त छ तर यो कसैको कोशेली हो, मैले घर पु-याउनुपर्छ, जा बरु कसैलाई रक्सी लिन पठा । बसेर खाम्ला ।’, कार्कीले अह्राए ।
एकैछिनमा त्यही चौरमा जम्यो दुर्गाबहादुर मिजार र चेतन कार्कीको जोडी । दुवैले पालैपालो गीत गाउँदै रक्सीको चुस्की लिँदै गर्न थाले । त्यतिबेलै चेतन कार्कीले आफूले यो गीत पहिलोपटक सुनेको सम्झना गर्छन् ।
एकैछिनमा त्यही चौरमा जम्यो दुर्गाबहादुर मिजार र चेतन कार्कीको जोडी । दुवैले पालैपालो गीत गाउँदै रक्सीको चुस्की लिँदै गर्न थाले । त्यतिबेलै चेतन कार्कीले आफूले यो गीत पहिलोपटक सुनेको सम्झना गर्छन् ।
‘हो, त्यतिबेला मैले यो गीत दुर्गाबहादुर मिजारको मुखबाट सुनेको हुँ, गीतले मलाई यति छोएछ कि, घर गएर सबै गीत टिपेर राखें ।’
गीत गाइयो । सुनाइयो । कार्कीले त्यो गीत नटिपेको भए त्यो गीत सुनिन्थ्यो?
रेडियो नेपालसम्म गीत आइपुग्ने बाटो भने त्यतिबेला कार्कीले नै बनाएका रहेछन् ।
तर, त्यो गीत अहिले रेकर्ड भएको गीतभन्दा केही फरक थियो । कार्कीका अनुसार त्यो गीतमा अरु पनि अन्तरा थिए ।
नौ नम्बरको टप्परमा
गोली बर्सन्छ खप्परमा
यी पङ्ति थप्दे कार्कीले भने, ‘गीतको शुरु पनि अलि फरक थियो, आमाले सोध्लिन् भनेझैं स्वामीले सोध्लान् पनि थियो ।’
दुर्गाबहादुर मिजारले गाएको यो गीत कसरी उनका छोरा झलकमान गन्धर्वले गाए त?
‘पोखरा आसपासका सबै क्षेत्रमा लाहुरेको बाहुल्यता थियो । एक प्राइभेट विद्यालयले मलाई नाटक लेख्न आग्रह ग-यो, नाटकमा मैले त्यो गीत पनि समावेश गरें, किनभने नाटक गोर्खाली लाहुरैकै कथामा थियो’, उनले जोशका साथ सुनाए, ‘दुर्गाबहादुर मिजारको मुखबाट सुनेको त्यो गीत मैले नाटकमा राखेर उसलाई गाउन बोलाएँ ।’
कार्कीले दुर्गाबहादुरलाई गीत गाउन त बोलाए तर बाटुलेचौरको चौरमा सँगै रक्सी खाएर गीत गाएका दुर्गाबहादुर आउन नसक्ने भए ।
कार्कीले भने, ‘मैले एउटा नाटक लेखेको छु, नाटकमा अस्ति मलाई सुनाएको गीत तैंले मञ्चमा गाउनुपर्छ ।’
‘साहेब, म त बिरामी छु,, आउन सक्दिन होला । बरु छोरालाई पठाइदिन्छु ।’, दुर्गाबहादुरले बिन्ती बिसाए ।
बा दुर्गाबहादुर मिजार बिरामी भएपछि उनको सट्टामा छोराले गाउने भए । शुरुमै कार्कीले सोधे, ‘गाउन सक्छस्?’
‘हजुर, अलि दोहर्दिन कि हजुर !’, दुर्गाबहादुरका छोराले भने ।
‘म छु नि, मैले भनेअनुसार गा न ।’ कार्कीले ढाडस दिए ।
त्यसपछि उनी गीत गाउनका लागि तयार भए । दुर्गाबहादुर मिजारका छोरा थिए – झलकमान गन्धर्व ।
पहिलोपटक नाटकमा गीत गाएपछि त्यही गीतलाई कार्कीले आफ्नो उपन्यास ‘आत्मा बेचेको छैन’ मा पनि समावेश गरे । त्यसपछि लगातार झलकमान गन्धर्वले गीत गाउँदै हिँड्न थाले प्रतियोगिताका लागि कार्कीसँग ।
‘त्यतिबेला दुर्गाबहादुर मिजार बिरामी नभएको भए मसँग उसैले गीत गाउँदै हिँडेको हुन्थ्यो ।’, कार्कीले कुरामा कुरा थपे ।
गीत गाउँदै हिँड्थ्यो?
उतिबेला फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौंको राष्ट्रिय नाचघरमा हरेक वर्ष अञ्चल–अञ्चलबीच प्रतियोगिता हुने गर्थ्यो । त्यस प्रतियोगिताका लागि कार्कीले झलकमान गन्धर्वलाई चयन गरे । किनकि उनले बुझिसकेका थिए, झलकमानले यो गीत गाउन सक्छ । ‘उसले त्यो गीत नाटकमा गाइसकेको थियो, प्रतियोगिताका लागि हामीले उसलाई काठमाडौं लैजाने भयौं,’ कार्कीले झलकमानलाई सम्झँदै सुनाए, ‘गण्डकीबाट कलाकार चयन गर्नेमा म प्रमुख थिएँ, पछि पनि झलकमान त डराइरहेको थियो गीत बिगार्छु कि भनेर ।’
पोखराबाट काठमाडौंको यात्रा पनि हवाईजहाजमा गर्नुपर्ने । झन् पूर्व पुग्नुपर्यो भने त भारत गएर रेल चढ्नुपर्ने ।
फागुन सात गतेका लागि चेतन कार्की, झलकमान गन्धर्व लगायतको समूह काठमाडौं पुग्यो । झलकमानले एकल गायनमा त्यही ‘हे बरै…’ गाएर पुरस्कार जिते । झलकमान मात्र होइन, पोखराबाट आएको सामूहिक टिमले पनि मेडल जितेको कार्की बताउँछन् । ‘प्रतियोगितापछि हामीलाई पूर्वी क्षेत्रमा कला प्रस्तुत गर्न पठाइयो, हामी विराटनगर गयौं,’ कार्कीले थपे, ‘मैले त्यतिबेलै झलकमान सहितको हाम्रो टिमलाई झापा, विराटनगर र दार्जिलिङ पनि घुमाएँ ।’, उनले जोशका साथ सुनाए ।
‘प्रतियोगितापछि हामीलाई पूर्वी क्षेत्रमा कला प्रस्तुत गर्न पठाइयो, हामी विराटनगर गयौं,’ कार्कीले थपे, ‘मैले त्यतिबेलै झलकमान सहितको हाम्रो टिमलाई झापा, विराटनगर र दार्जिलिङ पनि घुमाएँ ।’
विभिन्न ठाउँमा कला देखाएपछि कार्कीको टिम काठमाडौं फक्र्यो । झलकमान पनि समूहसँगै काठमाडौं आए । ‘पूर्व यात्रामा निस्कनुअघि मैले झलकमानलाई नै रेडियो नेपालमा भाग लिन लगाएको थिएँ, त्यहाँ पनि ऊ प्रथम बन्यो,’ उनले थपे, ‘रेडियो नेपालले झलकमान पहिलो भएपछि चिन्यो, मैले पहिले नै चिनिसकेको थिएँ ।’
पूर्व यात्राबाट फर्केपछि रेडियो नेपालले आफूसँग सम्पर्क राखेर झलकमानसँग कुरा गर्न आग्रह गरेको कार्की बताउँछन् । ‘एउटा भ्रम के छ भने मैले झलकमानलाई रेडियो नेपालमा जागिर खुवाएको भन्ने पनि सुनिन्छ, त्यस्तो हैन’, उनले भने, ‘मैले उसलाई चिनाइदिएको हो, तर झलकमानले आफ्नो योग्यताले जागिर खाएको हो ।’
उनले फेरि थपे, ‘त्यसपछि हामी प्लेन चढेर पोखरा लाग्यौं, झलकमान रेडियो नेपालको जागिरे भएर काठमाडौंमै बस्यो ।’
त्यही गीतले झलकमानलाई रेडियो नेपालमा जागिर मात्र दिएन, गीत रेकर्ड भएर उनलाई अजर अमर बनाइदियो । गीतले झलकमान गन्धर्वलाई सधै सम्झाइरहन्छ तर बुबा दुर्गाबहादुर मिजार कहिल्यै चर्चामा आएनन् ।
पछिल्लोपल्ट बुधबार, कार्तिक १४, २०७५ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया