तराईमा आज होली, जोगिरा सरर… − Kalakarita
तराईमा आज होली, जोगिरा सरर…

शुक्रबार, फागुन १८, २०७४, ११ : ००कलाकारिता

काठमाडौं, १८ फागुन – रंगहरुको पर्व होलीलाई नेपालमा पछिल्ला केही वर्षदेखि भव्य रुपमा मनाउँदै आइरहेको छ । खासगरी ठूला शहरमा मात्र फेशन बनेको यो पर्व यतिबेलासाना शहर र गाउँ गाउँमा समेत रंगहरुको संयोजनमा मनाइने गरेको छ । फागु पूर्णिमाका दिन मनाउँदै आइने होलीलाई नेपालमा दुई दिन मनाउने चलन छ ।

बिहीवार काठमाडौं, पोखरा लगायत नेपालका धेरैजसो पहाडी क्षेत्रमा होली मनाइयो । त्यस्तै आज पूर्वी तथा पश्चिम तराईमा होली पर्व मनाइँदै छ । पूर्वी तराईमा विभिन्न जातजातिसँग होलीको आफ्नै विशेषता रहिआएको छ । होलीलाई सांस्कृतिक पर्व र रंगहरुको पर्वका रुपमा मनाउँदै आइएको छ । होलीको रौनकता बढेपनि होलीमा गाइने ‘जोगिरा सरर…’ लाई भने खासै सुन्न पाइँदैन ।

तराई क्षेत्रमा राजवंशी, मुसहर, थारु, सन्थाल लगायतका जातिले होलीलाई विशेष रुपमा मनाउँदै आएका छन् । त्यस्तै मिथिला प्रदेशमा पनि होली धुमधामका साथ मनाउने गरिन्छ । मिथिला भूमिमा भने होलीका बेला पदयात्रा गर्ने चलन छ । होलीमा राम र सीताका भजन गाउने चलन पनि छ ।

कस्तो रह्यो बिहीवारको होली?
राजधानी काठमाडौं लगायत देशका पहाडी क्षेत्रमा पनि उल्लासका साथ होली मनाइयो । काठमाडौंको बसन्तपुर, टुँडिखेल, सुन्धारा लगायतका स्थानमा होलीमा थुप्रै युवापुस्ता रंगसहित उपस्थित भएका थिए । रंगहरुको पर्वका रुपमा लिइने होली मनाउन टोल टोलमा मान्छेहरु जम्मा भएका थिए । भने युवायुवती गीतमा झुमेर होली खेलिरहेका थिए । त्यस्तै पोखरामा पनि होलीलाई भव्य र सभ्य किसिमले मनाइयो ।

त्यस्तै कलाकार पनि होलीको अवसर पारेर आफ्ना रिलिज हुन बाँकी चलचित्रको प्रचारमा व्यस्त बनेका थिए । चलचित्र शत्रु गते, मंगलम र पञ्चायतको टोली दिनभरी होली विशेष कार्यक्रममा झुम्यो । अभिनेत्री करिष्मा मानन्धरको घरमा पनि होलीको बेग्लै रौनक देखियो ।

तस्वीरः सामाजिक सञ्जालबाट


तपाईंको प्रतिक्रिया