सम्बन्ध (लघु कथा) − Kalakarita
सम्बन्ध (लघु कथा)

बुधबार, माघ २४, २०७४, ०८ : ००विनोद महत

चाडबाडको मौसम भन्नुपर्छ । भर्खरै सकिएको दशैंको उल्लासले गाउँको चहलपहल सेलाएको थिएन । तिहार आउनै लाग्दा प्रकृति निकै आकर्षक देखिन्थ्यो । मौसम यति आनन्दित थियो कि, म डेरामा बस्ने घरको छतमा अबेरसम्म त्यही प्रकृति हेरेर टोलाउने गर्थें । झिलिमिली उज्यालोमा आफ्नो मनलाई धपक्कै बाल्न खोज्थें ।

तिहारलाई स्वागत गर्न घरहरु पोतिएका थिए । नयाँ बन्दै थिए, आकाशको जूनझैं टल्किएका । सन्तुलित मौसममा कतैकतै देउसीका भाकाहरु सुनिन थालिसकेका थिए ।

तिहारले वातावरण त आर्कषक बनाएको थियो नै । तर पनि मन कताकता खल्लोजस्तै भएको थियो । किनकि गाउँमा भएकी बैनीको हातबाट टीका थाप्न जान नपाउने लगभग पक्काजस्तै भएको थियो ।

दुःख भुलाउन हुनुपर्छ, मैले अग्लो घरको छतमा बसेर प्रकृति नियालिरहेको छु । शहरको देखावटी सुन्दरतामा रमाउने कोशिश गरिरहेको छु । नेपथ्यमा गुञ्जिरहेका आवाज सुनिरहेको छु । सुनेको मात्र छैन, हेरेको पनि छु त्यो गोधुली साँझलाई ।

अचानक मेरो मोबाइलको घण्टीले मेरो ध्यानलाई उल्टोपाल्टो पार्‍यो । मोबाइलमा म्यासेज आउँदा पनि ध्यान भंग? लेखिएको थियो – तपाईं र तपाईंको परिवारलाई दिपावलीको शुभकामना ।

अचानक मेरो मोबाइलको घण्टीले मेरो ध्यानलाई उल्टोपाल्टो पार्‍यो । मोबाइलमा म्यासेज आउँदा पनि ध्यान भंग? लेखिएको थियो – तपाईं र तपाईंको परिवारलाई दिपावलीको शुभकामना ।

शुरुमा लाग्यो, कोही चिनेकै साथीले म्यासेज गरेको हो । तर नयाँ नम्बरबाट आएको म्यासेजले मलाई केही प्रश्न पनि छोडेर गएको थियो । मैले कलब्याक गरें । तेस्रोपटकमा फोन उठ्यो । फोनमा एक युवतीको लयात्मक स्वर थियो । उनले भनिन् – हेलो ।
‘हजुर’ – मैले यत्ति भनें ।

उनको प्रतिक्रिया आएन । मैले आफै थपें – ‘यो नम्बरमा तिहारको शुभकामना आएको थियो । मैले फोन गरेरै शुभकामना दिऊँ भन्ने लागेर कलब्याक गरें ।’
म हाँसे पनि ।
‘तर मैले स्वर चिनिनँ नि ।’, फेरि थपें ।

‘चिन्नुभएन?’, उनले प्रश्न गरिन् । आफ्नो बारेमा पूरै अपडेट गराइन् । र अन्तिममा भनिन् – ‘तर गलत नम्बरमा म्यासेज गएछ हेर्नू न ।’
त्यो दिन फोनमा कुरा सकिए ।

तर, त्यो शुभकामनाले हाम्रो यात्रा भने केही लामो बनाइदिएको थियो । हामीले त्यो दिन परिचय ग–यौं । चिनाजानी ग–यौं । त्यसपछि निरन्तर कुरा हुन थाल्यो । कसरी हामी दुवै आकर्षणमा पर्‍यो, मलाई केही थाहा छैन ।

त्यसपछि हामीले लामो समय सम्बन्धका बारेमा कुरा ग–यौं । शायद ६ महिना । प्रायः कुरा राति सुत्ने बेलातिर हुन्थे ।
हामीले रुचि साटासाट गर्न थालिसकेका थियौं । अझ अर्को कुरा त के थियो भने हामीले एकअर्कालाई भेट्न पाएका थिएनौं । बरु प्रविधिले हामीलाई भिडियो च्याटसम्म गराइदिएको थियो ।

सबैभन्दा धेरै कुरा हुने मान्छेसँग कहिल्यै खुलेर प्रेमका कुरा भएनन् । हामीबीच केही व्यावहारिक कुरा भए होलान् । केही जीवन दर्शनका र केही जीवनोपयोगी । शायद उनले पनि भित्रभित्रै मलाई चाहन्थिन् मैले जस्तै । म यस्तै सोचिरहेको हुन्थें । यो यात्रा एउटा लामो यात्रामा जाने म पक्काजस्तै भएको थिएँ । सम्झँदा पनि रमाइलो लाग्थ्यो उनलाई । उनको नाम सम्झना थियो ।

मैले सम्झनालाई माया गर्न थालिसकेको थिएँ । जीवनको कल्पना गरिसकेको थिएँ । उनको मनमा के थियो, थाहा थिएन तर मेरो मनमा जे छ, उनको मनमा पनि त्यही छ भन्नेमा म ढुक्क थिएँ ।
तर एकदिन…

समय उल्टो घुम्यो ।

त्यो दिन मैले एकदमै गहिरिएर सोचिरहेको थिएँ । अब म उनलाई आफ्नो मनको कुरा गर्नुपर्छ । संयोग, मैले उनलाई याद गरिरहेको थिएँ । फोन आयो ।
‘म तिमीलाई माया गर्छु ।’, मैले भन्नै लागेको थिएँ ।
तर उनले नै पहिले भनिन्, ‘आजसम्म जे भयो भयो, अब हामी कुरा पनि नगरम् । यस्तै प-यो ।’

त्यसपछि उनले मोबाइल अफ गरिन् । मोबाइलको नम्बरबाट चल्ने भिडियो च्याटका एप्समा पनि उनी भेटिइनन् । पछि कहिल्यै कुरा भएन । सामाजिक सञ्जालमा पनि उनलाई भेट्याउन सकिएन ।

अहिले कहिलेकाहीं सम्झनाको नम्बरमा फोन गर्ने गर्छु । तर लाग्दैन । सोच्छु, ‘उनले किन त्यस्तो निर्णय लिइन् होला, उनलाई के भयो भन्ने त भन्नुपर्छ नि ।’

अहिले पनि दिनको एकपटक त्यो झुक्किएर बनेको अपूरो सम्बन्ध फेरि कुनै दिन गाँसिने हो कि भन्ने लागिरहन्छ ।


तपाईंको प्रतिक्रिया