के भारतले गरेको नाकाबन्दीले नेपाली संगीतका स्रोता बढायो? − Kalakarita
के भारतले गरेको नाकाबन्दीले नेपाली संगीतका स्रोता बढायो?

बुधबार, माघ २४, २०७४, ०७ : ००कलाकारिता

काठमाडौं – वि.सं. २०७२ मा आएको विनाशकारी भूकम्प, त्यतिबेलाको राजनैतिक परिस्थिति, मधेश आन्दोलन र लगत्तै भारतले लगाएको अघोषित नाकाबन्दीले नेपाली जनताको सोचलाई धेरै हदसम्म परिवर्तन गरिदियो । प्रत्येक नेपालीले असल छिमेकी राष्ट्रका रुपमा हेरेको भारतलाई एकाएक नकारात्मक रुपमा हेर्न थाले ।

त्यसको असर राजनैतिक रुपमा मात्र परेन, साहित्य, संस्कृति र संगीतमा पनि प–यो । नेपालका प्रायः शहरका पार्टी प्यालेस तथा सार्वजनिक बस र अन्य स्थानमा बज्ने हिन्दी गीत बिस्तारै कम हुँदै गए ।

आजभोलि धेरैजसो स्थानमा नेपाली गीतलाई नै महत्त्व दिएको पाइन्छ । यसरी हेर्ने हो भने नेपाली गीत संगीतको माहोल स्थूल बन्दै गएको छ । गएका केही वर्षलाई केलाएर हेर्ने हो भने हिन्दी गीतले पारेको प्रभाव न्यून हुँदै गएको पाइन्छ ।

त्यसो त एकातिर नाकाबन्दीको असर पर्नु र त्यही बीचमा दर्शकले रुचाउने खालका नेपाली गीत पनि एकपछि अर्को गर्दै बजारमा आउनुलाई कतिपयले संयोगका रुपमा लिएका छन् । भलै धेरै नेपाली फिल्म फ्लप भएपनि फिल्ममा समावेश गरिएका लोकशैलीका गीतलाई दर्शकले रुचाउँदै आएका छन् । यसको कारण नाकाबन्दीपछि नेपालीले भारतलाई हेर्ने दृष्टिकोण भएको कतिपयको आँकलन छ भने एकथरीले दर्शकले रुचाउने गीत निर्माण हुँदै जानुले हिन्दी गीत ओझेलमा परेको तर्क दिन्छन् ।

चर्चित लोकगायक इन्द्र जिसीले नाकाबन्दीपछि नेपालीले भारतप्रति गर्ने सम्मानमा उस्तै नरहेकाले हिन्दी गीतभन्दा नेपाली गीत नै बढी सुन्न थालेको धारणा राख्छन् । भारतीय संस्कृतिलाई नेपालीले छिमेकी देशको संस्कृतिका रुपमा हेर्ने गरेपनि नाकाबन्दीको प्रभाव गी गीत संगीतमा पनि परेको उनको तर्क छ । ‘नेपालीले भारतको संस्कृति र भाषालाई जति सम्मान गर्थे, नाकाबन्दीपछि त्यो सम्मान कम हुँदै गएको छ,’ संगीत संयोजकसमेत रहेका जिसी थप्छन्, ‘आजभोलि नेपाली गीत संगीत पहिलेको तुलनामा धेरै सुनिन थालेको पक्कै हो, नेपाली संगीत दर्शकले रुचाउँदै जानुभएको छ ।’

अर्का गायक पशुपति शर्मा नाकाबन्दीकै कारणले नेपाली गीत बढी सुनिन थालेकोप्रति भने आफै अलमल छन् । नाकाबन्दीको पूरै प्रभाव गीतमा नपरेपनि केही मात्रामा भने नेपाली दर्शकलाई प्रभाव परेको हुनसक्ने शर्मा बताउँछन् । ‘नाकाबन्दीकै कारणले नै होला भन्ने त लाग्दैन तर नाकाबन्दीपछि नेपाली गीतसंगीत सुन्ने दर्शक भने बढ्नुभएकै हो,’ शर्मा भन्छन्, ‘अहिले त सिनेमामा पनि लोकशैलीका गीत धेरै गाइन थालेका छन्, लोकगीतलाई आधार बनाएर गाइएका गीतले दर्शक तानेको छ ।’
‘लोकसंगीत नै नेपाली गीत हुन्, यस्ता गीतलाई माया गर्नैपर्छ ।’, उनी थप्छन् ।

पछिल्लो समय धेरै चलचित्रमा लोकशैलीकै गीत गाएर एकपछि अर्को गर्दै सफल गीत गायक तथा गीतकार राजनराज शिवाकोटी भाषा, धर्म र सिमानाले संगीतलाई प्रभाव नपार्ने तर्क राख्छन् । तर उनी के पनि स्वीकार्छन् भने, नाकाबन्दीको असर सांगीतिक क्षेत्रमा केही न केही मात्रामा परेको छ । ‘हुन त राम्रा गीत सृजना भएर पनि नेपाली गीत रुचाइएका होलान् तरपनि दर्शकमा नाकाबन्दीको प्रभाव परेको हो कि भन्ने लाग्छ,’ शिवाकोटी आफ्नो धारणालाई स्पष्ट पार्दै भन्छन्, ‘आजभोलि दर्शकले नेपाली गीत रुचाउन थाल्नुभएको छ, गीत संगीत पनि पहिलेभन्दा राम्रा हुँदै गएका छन् ।’

अरु गीतभन्दा लोकशैलीका गीतलाई दर्शकले बढी रुचाएका छन् । यो कुरालाई कलाकारले पनि स्वीकार त गरिसकेका छन् । तर संगीतमा एकनासको ट्युन र पुराना गीत रिमिक्स हुने चलन पनि बढ्दै गएको छ ।

पछिल्लोपल्ट बिहीबार, माघ २५, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया