उस्तै सिनेमाको साउने बाढी, लगानी सुरक्षितका लागि कि नयाँपनको खडेरी? − Kalakarita
उस्तै सिनेमाको साउने बाढी, लगानी सुरक्षितका लागि कि नयाँपनको खडेरी?

बुधबार, माघ २४, २०७४, ०७ : ००कलाकारिता

काठमाडौं – एक समय नेपाली चलचित्रमा रोनाधोनाका चलचित्रले बजार तताउँथे । जति रुवाउन सक्यो, त्यति फिल्म हिट हुन सक्छ भन्ने एउटा फर्मुला नै बनेको थियो फिल्ममा । चलचित्र मुगलान, दर्पण छाया, ए मेरो हजुर, छोडी गए पाप लाग्ला, परदेशी लगायतका चलचित्र हिट चलचित्र थिए । यी लगायतका धेरैजसो चलचित्र मसालेदार त थिए नै, पीडालाई पनि उत्तिकै संवदेनाका साथ उठान गर्ने गर्थे ।

पछिल्लो केही दशक हेर्ने हो भने अहिलेका दर्शकले मन पराउने फिल्मको स्वाद फरक रहेको पाउन सकिन्छ । निर्माण भएका पछिल्ला फिल्मका पङ्क्तिलाई हेर्ने हो भनेपनि अन्य फिल्मका तुलनामा हास्य जानरामा निर्माण भएका चलचित्रले आफ्नो लगानी सुरक्षित गरेका उदाहरण छन् ।

त्यसो त प्रेम कथालाई नै मुख्य विषयवस्तु बनाएका चलचित्र ‘ए मेरो हजुर २’, ‘म यस्तो गीत गाउँछु’, ‘प्रेमगीत २’ लगायत एकाध चलचित्र व्यावसायिक रुपमा सफल भएका छन् तर प्रेमकथामा निर्माण हुने धेरै चलचित्रमध्ये केही चलचित्र मात्र सफल हुनुलाई प्रेमकथालाई पनि दर्शकले रुचाएको भन्न मिल्दैन ।

यता हास्य (कमेडी) जानरामा निर्माण भएका चलचित्रमा धेरै चलचित्रले आफ्नो लगानी उठाएको निर्माताले दाबी गर्दै आएका छन् ।

चलचित्र ‘लूट’ र ‘कबड्डी’ ले ल्याएको ट्रेन्ड एकतर्फी रुपमा अगाडि बढिरहेको छ भने फरक खालका चलचित्र निर्माणको परिपाटी पनि यथावतै छ । तर लूट, कबड्डी, फाटेको जुत्ता, झ्यानाकुटी, झोले लगायतका चलचित्रले लगानी सुरक्षित गरिरहेका बेला यस्ता चलचित्र निर्माणको बाढी रोकिएको छैन ।

अझ आफ्नै चलचित्रबाट प्रभावित भएको भन्ने आरोप लागिरहेका ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले त दर्शकले मन पराएसम्म यस्तै चलचित्र बनाउने धारणा राख्छन् । रिलिज भइसकेको चलचित्र ‘मिस्टर झोले’ को एक कार्यक्रममा उनले भनेका थिए, ‘जबसम्म दर्शकले यस्ता चलचित्र मन पराउनुहुन्छ, त्यतिञ्जेलसम्म बनाऊँ, मन पराउन छोडेपछि फरक खाले फिल्म पनि बनाउँला ।’


तपाईंको प्रतिक्रिया