काठमाडौं, २४ चैत – एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चलचित्र ‘शत्रु गते’ हेरेका छन् । काठमाडौंको सिटीम्याक्स हलमा अन्य शीर्ष नेताका साथमा फिल्म हेरेका हुन् ।
उनीसँगै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि चलचित्र हेरेका छन् । साथै एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईं , बेदुराम भुषाल , एमाले केन्द्रिय विभाग सदस्य रामेश्वर श्रेष्ठले हेरेका थिए । चलचित्र हेरिसकेपछि बोल्दै चलचित्र मनोरञ्जनमूलक लागेको बताए ।
माधवकुमार नेपालले आफूले पहिले नै फिल्मको बारेमा सुनेपनि फिल्म हेर्न नपाएको बरु फिल्म हेर्नुअघि आफू शत्रु गते कि सत्र गते भन्नेमा झुक्किएको बताए । ‘फिल्ममा सबैको भूमिका उत्तिकै राम्रो छ, म फिल्म हेरेर धेरै ठाउँमा हाँसे ।’, उनले भने ।
त्यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठले पनि चलचित्र राम्रो लागेको बताए । ‘फिल्म एकदमै मनोरञ्जनात्मक बनेको छ, साथै सामाजिक कुरीतिलाई पनि देखाएको छ’, उनले भने, ‘फिल्म हेर्दा समय खेर गएजस्तो लागेन ।’
प्रदीप भट्टराईले निर्देशन गरेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेश रंजन झा लगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्मलाई दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , स्व.यसोदा श्रेष्ठ र रमिला आचार्यले निर्माण गरेका हुन् ।
तपाईंको प्रतिक्रिया