रवि लामिछानेको ‘लफडा’ लाई दीपकराज गिरी र धुर्मुसको साथ − Kalakarita
रवि लामिछानेको ‘लफडा’ लाई दीपकराज गिरी र धुर्मुसको साथ

आइतबार, असार १०, २०७५, १० : ०१कलाकारिता

काठमाडौं, १० असार – पत्रकार एवम् टिभी कार्यक्रम सञ्चालक रवि लामिछानेको चर्चा बाक्लो छ । बेलाबेलामा विवादमा पनि आउँछन् । यसपटक भने उनी विवादमा मुछिएको कारण फरक छ । नेपाली भएर पनि नेपाली नागरिकता त्यागेर अमेरिकाको पासपोर्ट लिएर नेपालमा बस्दै आएका लामिछाने गैरकानूनी रुपमा नेपालमा बस्दै आएको भन्ने कुरा उठेपछि उनी विवादमा फसेका हुन् ।

न्युज ट्वान्टीफोर टिभीका कार्यक्रम सञ्चालक आफूले चलाएको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमबाट चर्चामा आएका त छन् तर यतिबेला भने उनले कार्यक्रमममार्फत दिनै कानूनका पाठ भने उनी आफैले लागू नगरेको पाइएपछि उनका पक्ष र विपक्षमा प्रश्न उठिरहेका छन् ।

यसैबीच हास्य अभिनेता हुँदै फिल्मका ‘हिरो’ बनेका दीपकराज गिरी र अभियन्ता धुर्मुस (सीताराम कट्टेल) ले रवि लामिछानेलाई आफूले समर्थन गरेको बताएका छन् । सीताराम कट्टेल र दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत आफू रवि अधिकारीको समर्थनमा रहेको लेखेका हुन् ।

‘तिमी त्यो ज्योति हौ, अँध्यारोमा प्रकाश छर्न सक्छौ, तिमी त्यो साहस हौ? लाखौं चट्टान पनि तोड्न सक्छौं, तिमी त्यो न्यायमूर्ति हौ, हजारौं चेलीको आँसु पुछ्न सक्छौ’, धुर्मुसले लेखेका छन्, ‘न्याय नपाएकाहरुको वेदना बुझ्न सक्छौ, चोर फटाहा र घुसखोरीको रामलीला समाप्त पार्न सक्छौ, अब अझै तिम्रो यात्रा दरिलो बन्दै जान्छ र जानुपर्छ, हामी तपाईंसँगै छौं रवि दाइ ।’

धुर्मुुसले लामो भावनात्मक स्टाटससँगै एक तस्वीर पनि शेयर गरेका छन् ।

त्यस्तै दीपकराज गिरीले पनि रवि लामिछानेप्रति आफ्नो भरोसा भएको लेखेका छन् । उनले लेखेका छन्, ‘सामान्य नागरिक, जसको कहीँ पहुँच छैन, केही अप्ठेरो प–यो भने रवि लामिछानेलाई भेट्न पाए हुन्थ्यो भनेको सुनेको छु, केही भएपनि नभए पनि भरोसा त छ, म रविजीको समर्थनमा छु ।’

सामाजिक सञ्जालमा रवि लामिछानेका बारेमा नकारात्मक र सकारात्मक दुवै प्रतिक्रिया आइरहेका छन् । कतिले त उनलाई दुःखी तथा न्याय नपाएका गरीबका भगवान् समेत भन्न भ्याएका छन् ।

उनलाई प्रेस पास नलिएको, नेपालमा गैरकानूनी रुपमा बसेको जस्ता आरोप लगाइएको छ । छामिछानेले गैरकानूनी ढंगले काम गरिरहेको भन्दै अध्यागमन विभागले प्रेस काउन्सिललाई पत्र पठाएको थियो ।

उनीमाथि गैरकानूनी रुपमा नेपालमा काम गरेको भन्दै उजुरी परेको थियो ।

पछिल्लोपल्ट सोमबार, असार ११, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया