काठमाडौं, २४ मंसिर – केही समययता नायिका सारा सिर्पाली चर्चामा छिन् । उनी चर्चामा हुनुको कारण एउटा त गसिप बनेको लभ अफेअर भयो । अर्कातिर उनी अभिनित फिल्म ‘सुश्री सम्पत्ति’ मंसिर २८ गतेबाट रिलिज हुँदैछ ।
फिल्मको औसत चर्चा छ । फिल्मको चर्चासँगै कलाकारको पनि चर्चा हुने स्वभाविकै रह्यो । अर्कातिर फिल्मले केही महिनाअघि सार्वजनिक गरेको गीत ‘हुकुम बक्सियोस्’ पनि दर्शकले रुचाएका छन् ।
गीतको हाइपले पनि फिल्म चल्नेमा निर्माण टिम ढुक्क छ ।
फिल्म चल्नु निर्माण टिमका लागि मात्र महत्त्वपूर्ण रहेन । फिल्म चल्नुले बक्स अफिस, कर र फिल्म उद्योगलाई पनि प्रभाव पार्छ । तर साराका लागि यो फिल्म अझै चल्नुपर्ने दबाब छ । किनकि, उनी अभिनित दुई फिल्म ‘रुद्र’ र ‘पिँजडा ब्याक अगेन’ ले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेनन् ।
एक्सन स्टार निखिल उप्रेतीसँग डेब्यु गर्दा नै उनको फिल्मी सम्भावनालाई आँकलन गरिएको थियो । अभिनयको त बरु तारिफ भयो तर फिल्म चलेनन् ।
यसकारण पनि साराका लागि ‘सुश्री सम्पत्ति’ चल्नैपर्ने देखिन्छ कि, यो फिल्म चलेन भने उनको करिअरलाई प्रत्यक्ष असर पर्न सक्छ । किनकि यसअघिका दुई फिल्म फ्लप भइसकेका छन् ।
आउँदो शुक्रवारबाट रिलिज हुन लागेको फिल्म ‘सुश्री सम्पत्ति’ लाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् भने सारालाई फिल्ममा सलोन बस्नेत, विनोद न्यौपाने लगायतले साथ दिएका छन् ।
पछिल्लोपल्ट बुधबार, फागुन ८, २०७५ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया