थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’ को कभर सार्वजनिक − Kalakarita
थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’ को कभर सार्वजनिक

मंगलबार, चैत्र ६, २०७४, १० : ०२कलाकारिता

काठमाडौं, ६ चैत – टेलिभिजन प्रस्तोता पूर्व मोडल तथा शिवानी सिंह थारुको बहुप्रतिक्षित उपन्यास ‘काठमाडौंमा एक दिन’ को आवरण सार्वजनिक गरिएको छ । लेखिका र प्रकाशक फाइनप्रिन्टका सिइओ नीरज भारीले कृतिको आवरण सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले उपन्यास आफूले सोचेभन्दा फरक विधामा लेखिकएको बताए । ‘शिवानी सिंह थारुले उपन्यास लेख्दैछिन् भन्ने थाहा पाएपछि मेरो गीत, मेरो सन्देशकी चुलबुले प्रस्तोताले प्रेम, रोमान्सबारे उपन्यास लेखिहोलिन् भन्ने मेरो आँकलन थियो’ उनले भने, ‘तर उनले मधेश, मधेश आन्दोलन र सशस्त्र विद्रोहमाथि गम्भीर उपन्यास लेखेको थाहा पाउँदा आश्चर्यचकित भएँ, यो उपन्यासले महिला लेखिकालाई हेर्ने हाम्रो दृष्टिकोण सायद परिवर्तन गर्नेछ ।’

लेखिका शिवानी सिंह थारुले आफूभित्रको आक्रोशले काठमाडौंमा एक दिन लेख्न प्रेरित गरेको बताइन् । ‘मलाई वर्षौंसम्म एउटै उपन्यासमा काम गर्ने जाँगर त्यही आक्रोशले प्रदान गरेको हो । यस्तै आक्रोस उपन्यासको एक पात्रमा पनि छ र ऊ आफ्नो लक्षप्राप्तिका लागि त्यसरी नै जुझिराख्छ जसरी म यो उपन्यास लेखनमा जुझिराखें ।’ उनले थपिन्, ‘सामाजिक अन्यायमा परेको पात्र कसरी हिंसात्मक विद्रोहमा उत्रिन्छ र त्यो हिंसा कसरी प्रतिहिंसामा परिणत हुन्छ भन्ने देखाउने प्रयास मैले उपन्यासमा गरेकी छु ।’

नीरज भारीले पनि पुस्तक स्तरीय भएको बताए । उपन्यास यही चैत्र १९ गते सार्वजनिक हुँदैछ । केही दिनमा उपन्यासको टिजर पनि सार्वजनिक गरिनेछ ।


तपाईंको प्रतिक्रिया