एकै समय पाँच शहरमा ‘बुलबुल’को गीत खिचिने − Kalakarita
एकै समय पाँच शहरमा ‘बुलबुल’को गीत खिचिने

आइतबार, कार्तिक ११, २०७५, ०८ : ०२कलाकारिता

काठमाडौं, ११ कार्तिक – नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलबुल’ को पहिलो गीत सार्वजनिक गरिने भएको छ । फ्ल्यास मोब शैलीमा तयार पारिएको गीतको बोल ‘खुद्राखुद्री’ रहेको छ ।

निर्माण टिमका अनुसार यो गीतको छायांकन काठमाडौं, पोखरा, नारायणगढ, बिर्तामोड र बुटवलमा हुनेछ । अर्को रमाइलो के छ भने उक्त गीतको छायांकन पाँचै शहरमा एकसाथ हुने भएको छ । यही १५ गते पाँच शहरमा छरिएर रहेका नर्तकहरुले एकसाथ आफ्नो कला प्रस्तुत गर्नेछन् ।

काठमाडौंको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरिने निर्माण टिमले बताएको छ । उक्त मितिमा ३ बजे एकै समयमा बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले जानकारी गराए ।

काठमाडौं बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौंको काठमाडौ मल अगाडि भने चलचित्रकी नायिका स्वस्तिमा खडका र नायक मुकुन भुसालले पनि अरुसँगै नाच्नेछन् । बजारमा नाचेसँगै युटयुब र मिडियामार्फत एकै समय संसारभर गीत सार्वजनिक हुनेछ ।

भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख भएको निर्माण टिमको दाबी छ ।

गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । उनले भिन्न कन्सेप्टमा खिचिएको गीत आफूले पछिल्लो समय खिचेका गीतमा उल्लेख्य रहेको बताएका थिए । ‘खुद्रा खाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।

गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालको नृत्य गरेका छन् । चलचित्रक निर्देशक विनोद पौडेलले ‘बुलबुल’ले स्वस्तिमा खडकाको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने स्वस्तिमा स्वयंले पनि यो फिल्म आफनो करियरकै कोशेढुंगा हुने अभिव्यक्ति दिँदै आएकी छिन् ।

फिल्ममा स्वस्तिमा खडकाका अलावा मुकुन भुसाल ,बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । फिल्म फागुन ३ मा रिलिज हुँदैछ ।

(इमेलमा प्राप्त)


तपाईंको प्रतिक्रिया