काठमाडौं, २५ फागुन – आज शुक्रवारदेखि नेपालमा एक साथ तीन चलचित्र रिलिज हुँदैछन् । यस हप्ता मात्र चलचित्र ‘मंगलम’ र ’हुर्रे’ र ‘गाजा बाजा’ एकसाथ प्रतिस्पर्धामा उत्रेका हुन् ।
कुन चलचित्र चल्ला, त्यो अर्को पक्ष रह्यो । अहिले जुधेका तीनै चलचित्र भने फरक विषयवस्तुमा निर्माण भएका चलचित्र हुन् । चलचित्र ‘गाजा बाजा’ नामकै कारणले पनि लामो समयदेखि विवादमा तानिँदै आएको थियो । एक दिने कथालाई आधार बनाएर निर्माण गरिएको चलचित्रले गाँजाको हन्टिङमा निस्केका दुई युवाको कथा बोकेको छ । युवापुस्तालाई तान्ने गरी फिल्म निर्माण गरिएको छ ।
त्यस्तै हुर्रे चलचित्र केही चलेका कलाकारलाई सहित लिएर निर्माण गरिएको हो । केकी अधिकारी, राजाराम पौडेल, अनुपविक्रम शाही लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘हुर्रे’ कमेडी जानरामा निर्माण भएको हो । यो चलचित्रले ट्रेलर रिलिजपछि औसत प्रतिक्रिया पाएको छ ।
अर्को चलचित्र ‘मंगलम’ छवि ओझाले निर्माण गरेको चलचित्र हो । चलचित्रमा शिल्पा पोखरेल र पुष्पल खड्का केन्द्रमा छन् । विवाहपछि पारिवारिक रुपमा आउने समस्यामा चलचित्रको कथा उनिएको छ । चलचित्रलाई पारिवारिक चलचित्र भनिएको छ । यो चलचित्र पनि सर्दा सर्दै यो मितिमा आएर अन्य दुई चलचित्रसँग जुध्न आइपुगेको हो ।
एकसाथ मैदानमा उत्रेका चलचित्रले कस्तो व्यापार गर्लान्, त्यो केही दिनमै थाहा हुनेछ । यसै पनि अहिले नेपाली चलचित्र रिलिज अघि चर्चामा आउने, त्यसपछि गुमनाम हुने ट्रेन्ड नै चलेको छ ।
तपाईंको प्रतिक्रिया