काठमाडौं – केही दिनदेखि युट्युब ट्रेन्डिङको नम्बर एकमा चलचित्र ‘जात्रा’ छ । युट्युबमा रिलिज गर्नुअघि नै मोबाइल एप्समार्फत इन्टरनेटमा सार्वजनिक गरिएको उक्त फिल्म यही हप्ता युट्युब रिलिज गरिएको थियो । नेपालमा सर्वाधिक हेरिने भिडियो सञ्जाल युट्युबमा रिलिज गरेदेखि नै चलचित्र ‘जात्रा’ ले चर्चा पायो । त्यसो त चलचित्रले सिनेमा हलमा पनि राम्रो व्यापार गरेको थियो ।
एकपछि अर्को गर्दै फिल्म असफल भइरहेका बेलामा यो चलचित्रले राम्रो प्रतिक्रिया पाउनु फिल्मकर्मीका लागि पक्कै खुशीको संकेत नै हो । चलचित्रले पाएको सफलताले निर्माण टिम खुशी नुहुने त कुरै भएन । जात्रामा त्यस्तो के छ र चलचित्र दर्शकले रुचाए त?
चलचित्रमा खासै लोभलाग्दो कथा पनि छैन । एक युवाले तीन करोड रकमसहितको बोरा भेट्टाएपछि उत्पन्न हुने विभिन्न आरोह र अवरोह नै फिल्मको कथा हो । पूरै फिल्म तीन पात्र (विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा) को वरिपरि केन्द्रित छ । फिल्मका संवाद चोटिला छन् । पात्र समस्यामा फसेका छन् । सामान्य लाग्ने कथामा चलचित्रको प्रस्तुति भने विश्वसनीय छ ।
फिल्मका निर्देशकसमेत रहेका प्रदीप भट्टराईले आफूले सबैको जीवनसँग मेल खाने कथा रोजेकाले ‘जात्रा’ लाई दर्शकले मन परेको बताउँछन् । ‘सबैको जीवनमा यस्तै समस्या छ, दर्शकले पात्रमा आफू देख्नुहुन्छ, त्यसैले फिल्मले प्रशंसा पाएको हो’, भट्टराई थप्छन्, ‘मुख्य कुरा त दर्शकलाई चाहिने मनोरञ्जन नै हो, हामीले विश्वास लाग्नेगरी चरित्रमार्फत मनोरञ्जन दिएका छौं ।’
चलचित्र क्षेत्रमा नेपाली फिल्मका दर्शक न्यून छन् भनेर भनिँदै आइएको छ । भट्टराई भने नेपाली चलचित्र हेर्ने दर्शकको कमी नभएको बताउँछन् । सिनेमाका दर्शक त छन् तर ट्रेलर र समाचारका आधारमा हलसम्म आउने दर्शक एकदमै कम छन् भन्छन् भट्टराई ।
‘दर्शक ट्रेलर हेरेर हलसम्म आउन खोज्नुहुन्न, समाचारमा पनि विश्वास गर्नुहुन्न . तर जब फिल्मलाई धेरै जनाले राम्रो छ भन्नुहुन्छ, तब मात्र फिल्म हेर्न खोज्नुहुन्छ’, उनी थप्छन्, ‘यदि दर्शकले हलसम्मै आएर फिल्म हेर्ने हो भने फिल्मकर्मीलाई अर्को फिल्म बनाउन उत्साह थपिन्थ्यो ।’
युट्युबमा चलचित्र ‘जात्रा’ लाई एक हप्तामै १७ लाखभन्दा बढीले हेरेका छन् । चलचित्रलाई कमेन्ट गर्नेमध्ये ९५ प्रतिशतले राम्रो लागेको प्रतिक्रिया दिएको भट्टराई बताउँछन् ।
तपाईंको प्रतिक्रिया