उत्कृष्ट कभर भिडियो बनाउनेलाई २ लाख, टिकटक बनाउनेलाई ५० हजार − Kalakarita
उत्कृष्ट कभर भिडियो बनाउनेलाई २ लाख, टिकटक बनाउनेलाई ५० हजार

सोमबार, चैत्र ४, २०७५, ०८ : ०३कलाकारिता

काठमाडौं, ०४ चैत्र – पछिल्लो समय थारु कलाकारहरु नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ । यस्तैमा थुप्रै थारु गीत गाइसकेका गायक नरेश जोगीले नयाँ नेपाली डान्सिङ नम्बर सार्वजनिक गरेका छन् । ‘माया बस्यो लै लै’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा गायिका शिक्षा ढुंगेलको समेत स्वर छ ।

नरेश स्वयम्को शब्द र संगीत रहेको गीतमा विशाल निरौलाको म्यूजिक एरेन्ज छ । गीतको भिडियोमा नेपाली ठिटोजको डान्स क्रुसहित भारतको चर्चित रियोलिटी शो डान्स इन्डिया डान्सबाट चम्किएका नेपालीभाषी सुनिल क्षेत्री र पहिलो बुगीवुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीको रोमान्टिक नृत्य छ ।

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । निश्चल केसीले कोरियोग्राफी गरेको गीतको भिडियो निर्देशन शिशिर केसीले गरेका छन् ।

यसैगरी यो गीतको निर्माण समुहले भिडियो सार्वजनिकसँगै यो गीतमाथि उत्कष्ट कभर भिडियो बनाउने दुईजना र उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई पुरस्कृत गर्ने समेत निर्णय गरेको छ ।

उत्कृष्ट भिडियो बनाउनेमध्ये पहिलोलाई दुई लाख रुपैयाँ र दोश्रोलाई एक लाख रुपैयाँ दिइने गायक नरेश जोगीले बताए । जोगीका अनुसार उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई ५० हजार रुपैयाँ नगद पुरस्कार समेत दिइने छ ।

‘यो कभर भिडियोका सौखिन र टिकटकप्रेमीहरुका लागि सुःखद अवसर हो,’ उनले भने । भिडियो जुलाई १५ सम्म पठाइसक्नुपर्ने युट्युबमै उल्लेख छ ।


तपाईंको प्रतिक्रिया