कविताः गाई र मेरो देश − Kalakarita
कविताः गाई र मेरो देश

आइतबार, चैत्र ११, २०७४, ११ : ०४कलाकारिता
अनाम किरण

यतिखेर देश
“गाई”मा अल्झियो

कुनै दिन मेरो देश
लगभग यसरी नै अल्झेको थियो
“बफ” म:म:हरुमा
पाडाका सुकुटीहरुमा
सुँगुरका भुटनहरुमा
कुखुराका “लेग पिस”हरुमा

रसाएको मुखलाई
जातको जुँघाले छेकेन
न छेक्यो कुनै पुराण र कुरानले
न रोक्यो कुनै बाईबल र त्रिपिटकले
र उल्लेखित अछुत परिकारहरु
कालान्तरमा सर्व स्वीकार्य भईछाड्यो

यसपालि
बाच्छी जंगलमा हुलेर,
बुढीगाई सडकमा लखेटेर,
गढीमाईमा पाडाको बली चढाएर,
च्वाँचे चाखेको थुतुनो बोलिरहेछ –
“गाई हाम्री आमा हुन् ।”

कसैले सुनाईदेउ उसलाई
उसकी एउटी आमा
बृद्दाश्रममा मृत्यु कुरीरहेछिन् ,
उसकी अर्की आमा
सिमानामा जिन्दगी खोजीरहेछिन्

उसले यत्ति बुझोस् ,
कुनैदिन उसले पनि
बिफ सँगको सेल्फी हाल्नेछ
जसरी आज उसले फेसबुकमा
बफ म:म:को सेल्फी हालिरहेछ

त्यो दिन
कमसेकम आजको रमिता सम्झेर
उ चुकचुकाउनु नपरोस्


तपाईंको प्रतिक्रिया