निर्माताहरुका माग पूरा नभए हलमा फिल्म चल्न नदिने − Kalakarita
निर्माताहरुका माग पूरा नभए हलमा फिल्म चल्न नदिने

सोमबार, वैशाख १०, २०७५, ०३ : ०५कलाकारिता

काठमाडौं, १० वैशाख – नेपाल चलचित्र निर्माता संघले फिल्म वितरणमा आफूहरुले ५५ देखि ६० प्रतिशतसम्म शेयर नपाएमा आन्दोलन स्वरुप हल बन्द गर्ने घोषणा गरेका छन् । शनिवार काठमाडौंको अर्याल होटलमा निर्माताहरुको बृहद भेला भएको थियो । उक्त भेलाको छलफलपछि चलचित्र निर्माताहरु विरोधका कार्यक्रममा उत्रेको हो ।

वि.सं. २०६० सालमा हलवालाको संघ नेपाल चलचित्र संघ र फिल्म निर्माताहरुको संघ नेपाल निर्माता संघबीच सम्झौता भए पनि अहिले हलवालाले त्यति शेयर नदिएका भन्दै विज्ञप्ति जारी गरेका छन् । निर्माता÷वितरकले ५५ देखि ६० प्रतिशतसम्म शेयर पाउनुपर्ने माग गरेका छन् भने सरकारले लागू गर्न लागेको बक्स अफिसका लागि पूर्ण रुपमा सहयोग गर्ने बताएका छन् ।

नेपाल चलचित्र निर्माता संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेठ १ गतेको समयावधि भित्रमा सिनेमा भवनहरुको संगठित संस्था नेपाल चलचित्र संघबाट हाम्रा मागहरु पूरा नभएको खण्डमा नेपालमा सार्वजनिक प्रदर्शनमा आउने कुनै पनि भाषाका स्वदेशी तथा विदेशी चलचित्रहरुको सार्वजनिक प्रदर्शनमा रोक लगाइ संघर्षका थप कार्यक्रमहरु सार्वजनिक गरी आन्दोलनमा उत्रन वाध्य हुनेछौं ।’

साथै हलमा देखाइने ट्रेलर, पोस्टरका विषयमा पनि छलफल गर्ने निर्माता संघले जनाएको छ ।

 


तपाईंको प्रतिक्रिया