‘कृ’ गीत चोरी प्रकरणः दुई लाइन गीत चोरीको डन्डा ११ लाख ! − Kalakarita
‘कृ’ गीत चोरी प्रकरणः दुई लाइन गीत चोरीको डन्डा ११ लाख !

शुक्रबार, चैत्र १६, २०७४, ०९ : ०६कलाकारिता

काठमाडौं, १६ चैत – केही दिन भयो चलचित्र ‘कृ’ चर्चामा छ । चर्चामा हुनुको कारण फिल्म होइन भन्ने त धेरैलाई थाहै होला । मंहगो बजेटमा निर्माण भएको चलचित्रले न खासै व्यापारिक सफलता नै हासिल गर्‍यो, न त समीक्षा नै राम्रो पायो । तर निर्माता सुवास गिरीले यसको अर्को भाग ‘कृ २’ बनाउने अनौपचारिक घोषणा भने गरे ।

फिल्म हलमा रिलिज भयो । दुई दिन फिल्म आक्रामक रुपमा देखियो । तर त्यसपछि एक्कासी सेलाउन थाल्यो फिल्मको अकुपेन्सी । अझ त्यही बेला खलनायकको भूमिकामा देखिएका अभिनेता अनुपविक्रम शाही पनि निर्माण टिमसँग रिसाए । कारण थियो – कृ टिमले चाहिनेभन्दा धेरै भूमिका काटिदियो ।

तर, कुरा सेलायो । फिल्मले ठीकै व्यापार गरिरहेको थियो । एक हप्तापछि फिल्मलाई अझै प्रचारात्मक बनाउनलाई निर्माण टिमले फिल्मको गीती भिडियो युट्युबमा रिलिज ग–यो । गीत थियो – उकालीमा अघिअघि ।

त्यही गीतका दुई लाइन मिल्दा अहिले सुवास गिरीलाई तनाव भएको छ । त्यो पनि विना गल्ती । भएको के भने, कसैले फिल्म ‘सम्झना’ का निर्देशक शम्भु प्रधानलाई तपाईंको गीत चोरी भएको रहेछ भनेर सुनाइदियो । त्यसपछि बल्ल प्रधानले त्यो गीत सुने । फिल्म हलमा रिलिज हुँदासम्म पनि उनलाई यसबारेमा केही थाहा थिएन । गीत सुनिसकेपछि प्रधान सिधै कानूनी उपचारमा लागे ।

गीतको चोरीको सिलसिला जसरी भइरहेको थियो, त्यो एक किसिमले जालोजस्तै फैलिएको थियो । यहाँ गीत चोरी गर्नेहरु खुलेआम आफूले तोडमोड गरेको भनेर गर्वका साथ भन्ने गर्थे ।

यसअघि पनि ए दाजु नसमाऊ नारीमा, शत्रु गतेको ‘पिरतीको बर्को’ को लय, पानी प–यो असिना झ–यो जस्ता गीत फिल्ममा चोरिएका थिए । यी त उदाहरण मात्र हुन् । अझ यहाँ त गीतलाई हुबहु चोरिने पनि गरिन्छ । अलिअलि तोडमोड त सर्जकको सिर्जना जस्तै भइहाल्यो नि ।

उता कम्पोजर अल्मोडाले मोबाइल स्वीच अफ गरेर बसे । उनी त झन् बारम्बार गीत चोरीको आरोपमा मार्केटमा छाइरहन्छन् । अल्मोडालाई कति फ्यानले त भन्ने गर्छन्, ‘यस्तो राम्रो गाउने खुबी भएका अल्मोडा किन गीत चोरेर आफूलाई कमजोर बनाए?’

यता निर्देशक शम्भु प्रधानले भने गीतवापत् टन्नै रकम तिराए । आफूले गीत चोरी हुने प्रवृत्ति रोक्नका लागि यसो गर्नुपरेको समेत बताए । कतिले उनलाई गाली गरेपनि कतिपयले त राम्रो काम पनि भन्न भ्याए । अब गीत चोर्ने चर्चित कलाकार रोकिन्छन् कि भन्ने एउटा आशा धेरैमा परेको पनि छ ।

सुवास गिरीलाई यतिबेला तनाव छ । किनकि उनलाई नखाएको विष लागेको छ । अझ नरमाइलो कुरा त अपराधीलाई झैं हतकडी लगाएर प्रहरीले फिल्मी शैलीमा प्रक्राउ गरेकोमा उनी दुःखी छन् ।

उनी कारवाहीमा पर्दा आफ्नै सम्पत्ति झैं गरी गीत चोर्नेहरू अलिकति हच्केलान् कि !

सुवास जी, तपाईंलाई नखाएको विष लागेको हो । तर गीत चोरी गरी आफ्नो सिर्जना भन्नेहरुले एउटा राम्रो पाठ सिके । यसलाई सकारात्मक कदम नै मान्दा फरक पर्ला र? किनकि जे हुनु थ्यो, त्यो त भइहाल्यो ।

र, यो पनि अहिल्यै पढ्नुहोस्ः

संगीतमा अश्लीलताः कला बिकाउने कि चर्तिकला?

पछिल्लोपल्ट आइतबार, चैत्र १८, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया