छाती र कुहिनाले पुस्तक लेखेर पुरस्कार जितेका साउद भन्छन् – लेखन अनवरत चल्छ − Kalakarita
छाती र कुहिनाले पुस्तक लेखेर पुरस्कार जितेका साउद भन्छन् – लेखन अनवरत चल्छ

बुधबार, जेठ १६, २०७५, ०९ : ०८कलाकारिता

भीमदत्तनगर, १६ जेठ – पारिवारिक समस्याका साथै शारीरिक अवस्थाले पनि साथ नपाउनुभएका मदन पुरस्कार विजेता नरबहादुर साउदले असहज परिस्थितिमा पनि पुस्तक लेखनलाई निरन्तरता दिँदै आएका छन् ।

ह्विलचेयरमा बसेर पुस्तक लेखनमा सक्रिय भीमदत्तनगरपालिका–२ का साउदले लेखेको ‘नेपालका बालीनाली र तिनको दिगोखेती’ नामक पुस्तकले २०६६ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।

वृद्धावस्थामा रहेका बुवाआमाको सहारामा दैनिकी गुजार्दै आएका शारीरिक रुपले दुर्बल साउदले विभिन्न अप्ठ्याराबीच लेखनलाई आफूले अघि बढाएको बताए । “अशक्त अवस्थामा भए पनि यही कलमले देशमै चर्चाको पात्र भएँ”, साउदले भने, “ओछ्यानमा छाती र हातको कुहिनाको भरमा सुतेर मात्रै कम्प्युटर चलाउन सक्छु । पहिले त सुतेरै दैनिक १५/१६ घण्टासम्म लेख्ने अहिले स्वास्थ्यका कारण लामो समय सक्दैन ।”

विसं २०४७ मा नेपाल दुग्ध संस्थानको जागिर हुँदा बुटवलदेखि सुर्खेत आउँदै गर्दा संस्थानको ट्यांकर बाँकेको कुसुममा दुर्घटनाग्रस्त हुँदा साउदको मेरुदण्ड नै भाँच्चिएको थियो । केही वर्षसम्म थला परे पनि उनले अन्ततः लेखन यात्रालाई अंँगालेर समाजमा केही नयाँ कुरा र अनुभव बाँडिरहेका छन् ।

यसै वर्ष उनले ‘हाम्रो खेतीपाती’ नामक पाठ्यपुस्तक पनि ल्याएका छन् । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकका रुपमा चौलानी प्रकाशन धनगढीले उनको पुस्तक बजारमा ल्याएको हो । “प्रकाशनमा आएर धनगढीको एउटा विद्यालयमा ऐच्छिक विषयका रुपमा पढाइसमेत शुरु भइसकेको छ”, साउदले भने, “बुवाआमालाई विसञ्चो हुँदा लेखन कार्य केही समय प्रभावित भएको छ ।”

पचपन्न वर्षीय साउदले ‘तरकारी खेती’ नामक पुस्तकसमेत लेख्ने योजना रहेको जानकारी दिए । उनले दोस्रो पुस्तक ‘च्याउखेती’ गत वर्ष बजारमा ल्याएका थिए । च्याउखेतीका विषयमा गहन अध्ययन र प्राविधिक पक्षसमेत समेटिएको पुस्तक किसानलाई लाभदायक रहेको उनको भनाइ छ । ‘च्याउखेती’ पुस्तक झण्डै एक दशकको मेहनतपछि बजारमा आएको थियो । साउदले नेपाल–भारतका विभिन्न अस्पतालको छ महिनाको उपचारबाट आफूलाई प्यारापिलेजिया भएको चिकित्सकले बताएपछि जीवनमै ठूलो चोट लागेको बताए ।

उनी ह्वियलचियरको सहारामा घर तथा बस्तीमा हिँड्डुल गर्नाका साथै कामविशेषले भीमदत्तनगर बजारसम्म पनि पुग्छन् । “दुर्घटनामा परेपछि केही वर्ष निकै उदासीन जीवन बिताएँ”, बैतडीको रिम गाविस–३ बण्डामा २०१९ सालमा जन्मेका साउदले भने,“त्यसपछि किताब लेख्न थालेपछि त्यतैतिर ध्यान केन्द्रित भयो ।” साझा प्रकाशनले प्रकाशन गरिदिएको पुस्तकले मदन पुरस्कार पाएपछि लेखनमा थप हौसला थपिएको साउदको भनाइ छ ।

पारिवारिक अवस्था नाजुक हुँदा पुर्खौली घर पहाड बैतडीमा समेत प्रवेशिकासम्मको अध्ययनमा निकै उतारचढाव झेल्नुभएका साउदले विएससी भारतको मिहाञ्चल प्रदेशको कृषि विश्वविद्यालयबाट गरेका थिए । “शारीरिक रुपले अशक्त भए पनि बुबाआमा र बहिनीको स्याहारले बाँचँको छु”, उनले भने, “बुबाआमा पनि निकै पाको भइसक्नुभयो ।”

आफू दुर्घटनामा परेको केही समयपछि श्रीमतीले पनि साथ छाडेर झन् पीडा पाएका साउद भाइको पनि निधन भएपछि परिवारमा निकै ठूलो बज्रपात भएको बताउँछन् । लेखनमा इन्टरनेटको पनि सहारा लिने गरेका साउदलाई हौस्याउने कोही पनि छैनन् । “पुस्तक लेख्न थालेपछि नै शान्ति मिलेको छ ।” उनले भने, “शारीरिक अवस्थाले साथ दिएसम्म लेखन अनवरत बनाउँछु ।”


तपाईंको प्रतिक्रिया