

काठमाडौं, ९ फागुन – अभिनेत्री स्वेता खड्काले निर्माण गरेको चलचित्र ‘कान्छी’ यतिबेला नेपालभर प्रदर्शन भइरहेको छ । चलचित्र ‘कृ’ रिजिल भएको एक हप्तापछि रिलिज भएको चलचित्र ‘कान्छी’ मा दयाहाङ राई र स्वेता खड्काको जोडी छ ।
उक्त चलचित्रले दर्शकको अत्यन्तै माया पाएको भन्दै अभिनेत्री तथा स्वेता खड्काले फेसबुकमा एक लामो स्टाटस लेखेर दर्शकलाई धन्यवाद दिएकी छिन् । ‘फिल्म चलेको र नचलेको चर्चा परिचर्चा गरिरहँदा पैसाकै कुरा चल्ने गरेको छ, करोडको हिसाब किताब देखाएर फिल्म हिट भएको देखाउने ट्रेन्ड नै चलेको छ, मैले बितेका दिनमा मेरा दर्शकबाट पाएको अथाह माया, साथ र सल्लाह अरबौ–खरबौंको छ’, उनले स्टाटसमार्फत भनेकी छिन्, ‘पैसाले माया, साथ र हौसला किन्न पाइने भए संसारको सबै माया बिल गेट्सको ढुकुटीमा जम्मा हुने थियो होला र हामी सबै रित्तो हुने थियौं होला ।’
साथै उनले कान्छी हेर्ने आफ्ना ‘भगवानजस्ता दर्शक’ लाई धन्यवाद पनि दिएकी छिन् । चलचित्र सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया पाइरहेका बेला सिंगल थिएटरका दर्शकले भने स्वेताको ‘कान्छी’ लाई रुचाएका छन् ।
चलचित्रमा दयाहाङ राई र स्वेता खड्काको जोडी छ । आकाश अधिकारीले निर्देशन गरेको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । चलचित्रमा आशान्त शर्मा, कामेश्वर चौरासिया, नीर शाह लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
तपाईंको प्रतिक्रिया