काठमाडौं, २६ भदौ – चलचित्र विकास बोर्डले युट्युबमा सार्वजनिक भएको ट्रेलरलाई हटाउन पत्र काटेपछि फिल्म ‘कथा काठमाडौं’ की निर्देशक संगीता श्रेष्ठले फिल्मलाई गीतको दृश्यलाई मात्र आधार मानेर मूल्यांकन गर्न नहुने बताएकी छिन् ।
फिल्ममा तीन फरक पात्रको कथा चित्रण गरिएको बताउँदै फिल्म हेर्न पात्रको गहिराइमा जानुपर्ने धारणा पनि उनले राखेकी छिन् । ‘फिल्म हेरेपछि त्यो दृश्य कथाअनुसार अश्लिल र भद्दा लागेमा म त्यसको अपजस लिन तयार छु, किनकि मैले पत्रकारिता, म्युजिक भिडियो निर्देशन, टेलिफिल्म निर्देशन, पुस्तक लेखनमार्फत आर्जन गरेको विश्वासलाई पक्कै पनि डुबाउने छैन’, निर्देशक श्रेष्ठले भनिन्, ‘मलाइ के लाग्छ भने फिल्म हेरिसकेपछि दर्शकले मैले उठाएको विषयमा बहस गर्न बाध्य हुनुहुनेछ ।’
प्रमोसनमा रहेका बेला यस किसिमको पत्रले असर र दुःखी पुर्याएको पनि उनले गुनासो गरिन् । साथै उनले यस किसिमको दृश्यलाई हटाउन सम्बन्धित निकायमा आफैले अनुरोध गरेको पनि बताइन् ।
‘विकास बोर्डले हामीले अपलोड नगरेको दृश्यलाई आधार मान्दै हामीलाई कारवाहीसम्म गर्ने चेतावनी समेतको चेतावनी सहित पत्राचार गर्दा हामी टिम केही निराश भएका छौं’, उनले अगाडि थपिन्, हामी केही गर्ने सोचका साथ यस क्षेत्रमा भित्रिएका छौं, तर हामीलाई सहयोग गर्ने त के भन्ने , त्यसको विपरीत यस किसिमको पत्र र चेतावनीपूर्ण धम्कीले निराश बनाएको छ ।’
यो चलचित्र साउन १२ गतेबाट रिलिज हुँदैछ । विवादमा आएपछि फिल्मकी नायिका प्रियंका कार्की पनि फिल्मसँग जोडिएर कतै प्रमोशनमा देखिएकी छैनिन् ।
तपाईंको प्रतिक्रिया