‘सुश्री सम्पत्ति’ को कथा के? सलोनले खुलाए − Kalakarita
‘सुश्री सम्पत्ति’ को कथा के? सलोनले खुलाए

शुक्रबार, मंसिर १४, २०७५, ०१ : ०९कलाकारिता

काठमाडौं, १४ मंसिर – पछिल्लो समयको सिनेमा बजार कमेडी बजार हुँदै गएको छ । कमेडी सिनेमालाई दर्शकले रुचाएका पनि छन् । केही सिनेमा आशा गरिएभन्दा सफल भएका छन् भने केही सिनेमा कमेडी भएर पनि असफल भएका छन् ।

यसै भीडमा मंसिर २८ गते अर्को कमेडी सिनेमा ‘सुश्री सम्पत्ति’ रिलिजको तरखरमा छ । सिनेमामा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । दर्शकमा ट्रेलर सस्पेन्स लागेको छ । केही दर्शकले यो फिल्म कस्तो होला भनेर जिज्ञासा पनि राख्न थालेका छन् ।

फिल्मका मुख्य अभिनेता सलोन बस्नेतले फिल्मको कथा ‘कुमारी सम्पत्ति’ मा आँखा लगाउने युवाको कथा भएको बताएका छन् । एक भेटघाटमा सलोनले भने, ‘फिल्मको बारेमा धेरै खोल्न त मिल्दैन तर यो फिल्म सुश्री अर्थात् कुमारी सम्पत्तिका लागि पछि लाग्ने कथा हो ।’

यो फिल्ममा सलोनका मिल्ने साथीको भूमिकामा विनोद न्यौपाने देखिएका छन् । सलोनले अर्का कलाकार विनोदको भूमिका पनि आफ्नो बराबर भएको खुलाए । ‘हामी दुई कलाकारको भूमिका समानान्तर अघि बढ्छ, दुवैको भूमिका उस्तै छ ।’

चलचित्र सारा सिर्पाली सुश्री सम्पत्तिकी शीर्ष पात्र हुन् । यद्यपि फिल्ममा उनको भूमिकालाई लिएर खासै खुलाइएको भने छैन । चलचित्रलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

रिलिजअघि राम्रै चर्चामा रहेको फिल्मबाट निर्माण टिम आशावादी छ ।


तपाईंको प्रतिक्रिया