काठमाडौं, २८ माघ – छिमेकी देश भारतमा फिल्म चल्न स्टारडमले ठूलो भूमिका निभाउँछ । त्यसो त विश्वमै स्टारडमले धेरै ठूलो भमिका खेल्छ । जस्तो कि, जेट ली, ब्रुसली लगायत कैयन् स्टार विश्व प्रसिद्ध छन् ।
यस्ता स्टार अभिनेताको फिल्म चल्छ कि चल्दैन भन्ने तुलना गरिँदैन । बरु कति कमाउँछन्, त्यसका आधारमा फिल्मको आँकलन गर्ने गरिन्छ । नेपालमा भने ‘स्टारडम’ सृजना गर्न सक्ने कलाकार कोही छैनन् । भलै केही कलाकार फिल्म रोजेर अभिनय गर्ने कलाकारमा गनिन्छन् । अर्थात्, पाएका सबै फिल्म नखेल्ने अभिनेता पनि छन् नेपाली सिनेमा क्षेत्रमा ।
शुक्रवारदेखि नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘कृ’ का अभिनेता अनमोल केसीलाई भने दर्शकले स्टार बनाइदिएका छन् यतिबेला । त्यसो त नेपालमा प्रदीप खड्का, पल शाह, सलिनमान बानियाँ लगायतका केही युवा स्टारका चलचित्र रिलिज हुँदा उस्तै क्रेज देखिने गरेको छ । अहिले रिलिज भइरहेको अनमोलको ‘कृ’ ले हलमा दर्शक तानेको छ । अझ रोचक पक्ष त के छ भने अनमोलका अन्तर्वार्तादेखि ट्रेलरसम्म युट्युबको ट्रेन्डिङमा लगातार हिट भइरहेका छन् । अहिलेको सिनेबजार अनमोलमय भएको छ ।
उनै अभिनेतालाई आम दर्शकले अभिनय दमदार नभएको पनि भनेर आरोप लगाउँछन् तर उनै अभिनेताका फिल्मले दर्शक भव्य तान्छ । अभिनय औसत गर्ने यी अभिनेताले कसरी आफ्नो स्टारडम बनाइराखे त? कहिलेकाहीं आफैलाई पनि यत्रो क्रेजका लागि दाबेदार छैन कि भन्ने अनमोल उनको चकलेटी लुककै कारण उनको क्रेज बढेको हो । अनमोलले यो कुरा स्वीकार्छन् पनि ।
त्यसो त उनी कम बोल्ने र मिडियामा पनि त्यति आउन नचाहने अभिनेता हुन् । उनका फिल्म हिट छन् । एउटा कारण त उनी कम फिल्ममा मात्र काम गर्छन् । शायद यही कुरा दर्शकलाई रुचेको हुनसक्छ ।
केही समयअघि दयाहाङ राईलाई पनि ‘स्टारडम’ जोगाउन सक्ने सेलिब्रेटीका रुपमा हेरिएको थियो । तर उनले एकपछि अर्को गर्दै फिल्म खेलेरै आफ्नो स्टार भ्यालु कमजोर बनाए । जे होस्, भर्खरै मौलाउन लागेको नेपाली सिनेमा जगत अझै मौलाउन अनमोल केसीजस्ता केही थान कलाकारले ‘स्टारडम’ जोगाइराख्नु पर्ने देखिन्छ ।
पछिल्लोपल्ट शुक्रबार, फागुन ११, २०७४ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया