‘इन्टु मिन्टु लण्डनमा’ टिमले केक काट्यो, अब ‘आइ एम ट्वान्टी वान’ बन्ने − Kalakarita
‘इन्टु मिन्टु लण्डनमा’ टिमले केक काट्यो, अब ‘आइ एम ट्वान्टी वान’ बन्ने

बुधबार, असोज १०, २०७५, १० : १०कलाकारिता

काठमाडौं, १० असोज – चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ टिमले फिल्मले राम्रो व्यापार गरेको भन्दै सेलिब्रेसन पार्टी गरेको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर निर्माण टिमले पार्टी दिएको हो ।

फिल्म निर्माण टिमले चलचित्रले राम्रो व्यापार गरेको जनाउँदै नयाँ चलचित्रको घोषणा समेत गरेको हो । अब आइकोर फिल्मसको ब्यानरमा अर्को वर्षको दशैँमा रिलिज हुने गरी नयाँ चलचित्र ‘आइ एम ट्वान्टी वान’  निर्माण हुने भएको छ । यो फिल्ममा सम्भवतः धिरज मगर दोहोरिने छन् । तर निर्माण टिमले अहिले भने केही खुलाउन चाहेन । फिल्मलाई रिनाशा बान्तवा राईले नै निर्देशन गर्ने सम्भावना छ । उनी निर्देशित इन्टु मिन्टु लण्डनमा ले राम्रो प्रतिक्रिया पाएको थियो ।

सेलिब्रेसन पार्टीमा फिल्मका निर्माता, निर्देशक र मुख्य कलाकार धिरज मगर र सारुक ताम्राकार उपस्थित भए पनि मिन्टु अर्थात् साम्राज्ञी शाह चाहिँ उपस्थित थिइनन् ।

साम्राज्ञीलाई नदेखेपछि पत्रकारले किन साम्राज्ञी आइनन् भनेर सोधेका थिए । त्यसको जवाफमा निर्देशक रिनाशाले बिरामी भएर नआएको भन्ने खबर पाएको बताएकी थिइन् । साथै उनले आफूहरूले साम्राज्ञीलाई मिस गरेको पनि बताइन् ।

प्रमोसनको बेला अवार्डका लागि जापान उडेपछि निर्माण टिम र साम्राज्ञीको सम्बन्धमा केही चिसोपन देखिएको छ । हल्ला त के पनि चलेको थियो भने अब बन्ने फिल्ममा साम्राज्ञी नहुने भएकाले उनी सेलिब्रेसन पार्टीमा आउन चाहिनन् ।


तपाईंको प्रतिक्रिया