नेपाली कलाकार कति बौद्धिक? − Kalakarita
नेपाली कलाकार कति बौद्धिक?

शनिबार, चैत्र १७, २०७४, ०६ : १०कलाकारिता

काठमाडौं १७ चैत – चलचित्रसँग जोडिएका कलाकारलाई लिएर मिडिया क्षेत्रमा विभिन्न गसिप बन्नु त सामान्य नै भयो । केही महिनाअघि मात्र चलचित्र छक्का पञ्जा टिमका धेरैजसो सदस्यले सामाजिक सञ्जाल फेसबूकमा एउटै स्टाटस लेखेर ‘गेट वेल सून’ भने अर्की नायिका ऋचा शर्मालाई ।

उनले खासै त्यस्तो त केही भनेकी थिइनन् तर चलचित्र ‘छक्का पञ्जा’ हेर्दा आफूले मूर्ख महसुस गरेको बताएकी थिइन् । त्यसैलाई आधार बनाएर दीपकराज गिरी लगायतका चर्चित कलाकारले गेट वेल सूनको ‘ट्याग’ दिए ।

यो कुरालाई यहाँ जोड्नुको सन्दर्भ के हो भने कुनै कलाकर्मी कतिसम्म हर्कत गर्न सक्छन् भन्ने अभ्यासको एउटा उदाहरण हो यो सन्दर्भ ।
यो त जम्मा एउटा उदाहरण मात्र भयो । तर नेपाली कला क्षेत्रमा बेलाबेलामा यस्तै स–साना कुराले ठूलै रडाको मच्चाउने गरेको छ । कहिले बिकिनी लगाएर कार्यक्रममा आएको विरोध भइरहेको हुन्छ त कहिले बडीगार्ड लिएर कार्यक्रममा उपस्थित जनाएको चर्चा चल्छ ।

अझ अर्को चर्चाको विषय त यहाँ फिल्म चोरिन कम हुनु र गीत चोरिन थाल्नु पनि भएको छ । पहिले फिल्म चोरिन्थे भने अहिले गीत चोरिएका आरोप संगीतकारले खेपिरहेका छन् । यो पनि कुनै नौलो कुरा रहेन अब ।

कुरा के रह्यो भने, प्रायः कलाकारले यस्ता विवादका मुद्दामा यति छिटो प्रतिक्रिया दिन भ्याएका हुन्छन् कि, दर्शक पनि विवादबारे जानकार भइसकेका हुँदैनन् ।

छिमेकी राष्ट्र भारतका कलाकारले समेत आफू जोडिएर बनाइएका गसिपमा खासै प्रतिक्रिया दिएको पाइँदैन । बरु दर्शकबीच त्यही गसिपलाई लिएर वाक् युद्ध नै चल्छ । नेपालमा भने कलाकार आफै प्रतिकारमा उत्रिने गरेका छन् । भारत मात्र हैन, अरु देशका कलाकारले पनि यस्ता खालका समाचार कमै सुन्न पाइन्छ । तर नेपालमा भने सानो कुरालाई तोडमोड गरेर केही कलाकारले प्रतिक्रिया दिइहाल्ने गर्छन् । यस्तो आदतलाई केहीले ‘केटाकेटीपन’ का रुपमा हेर्ने गरेका छन् ।

तर, नेपाली कला क्षेत्रकै कुरा गर्ने हो भने केही कलाकारलाई भने वौद्धिक वर्गका रुपमा हेर्ने गरेका छन् दर्शकले । विवादमा आउने तर अभिव्यक्ति नदिइहाल्ने साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा शिवाकोटी, अनमोल केसी, प्रदीप खड्का लगायतका युवा कलाकारले आफूप्रति आएका प्रतिक्रियालाई सामान्य ढंगले लिने गरेका छन् ।

यसको पछिल्लो उदाहरण साम्राज्ञीको नाम राहदानीमा फरक भएको भन्ने समाचार हो । केही मिडियामा समाचार आयो तर उनले कुनै पनि प्रतिक्रिया दिइनन्, बरु विदेश जाँदा आफ्नो पासपोर्टको तस्वीरसहितको सेल्फी खिचेर पोस्ट गरिन् । यदि उनको ठाउँमा अरु कुन कलाकार भएको भए के भन्थे भन्ने दर्शकले अनुमान लगाइसकेका छन् । कलाकारले पनि आफू कत्तिको बौद्धिक छु भन्ने कुरालाई पक्कै बुझेका छन् ।

त्यसो त दर्शकले बौद्धिक भनेका कतिपय कलाकारले आफू चर्चामा आउन विभिन्न हर्कत पनि गर्ने गरेका छन् । विश्वव्यापीकरण भइरहेको कला क्षेत्र नेपालमै खुम्चिने हो कि यसमा बौद्धिक कलाकारको कुनै भूमिका हुनेछ, त्यो कलाकार आफैले बुझुन् ।


तपाईंको प्रतिक्रिया