शारदा पौडेल
अहो ठूलो भन्दा सबल हुनुमा गर्व छ अरु
कसो गर्ने मैले हरपल यही सोच छ बरु
बढेँ जस्तै लाग्ने अलिकति सरेँ है म जसरी
तिमीले देखायौ मकन गतिलो मार्ग यसरी ।
म तिम्रै बाटोमा अनवरत यात्रा गरिरहूँ
चलोस् चाहे आँधी अघि अघि दह्रो भई सरिरहूँ
बढोस् भन्दै मेरो कलम पनि त्यो धार जसरी
तिमीले देखायौ मकन गतिलो मार्ग यसरी।
रचे राम्रा राम्रा गजल कविता हर्दम कि त
सधैँ रम्दै लेख्ने कवि बन न हे सारु सरिता
कसो गर्ने मैले भनिकन लियौ पीर त्यसरी
तिमीले देखायौ मकन गतिलो मार्ग यसरी
सकेसम्मै हाम्रो बनिकन रचे काव्य कसको
लिए सारा राम्रा दिल मुटु छुने शब्द रसको
बगे यौटा बाटो अविरल नदी बग्छ जसरी
तिमीले देखायौ मकन गतिलो मार्ग यसरी ।।
छन्द: शिखरिणी
तपाईंको प्रतिक्रिया