काठमाडौं । प्रायः मधेशी मुलको चरित्रमा देखिने कामेश्वर चौरासिया पछिल्लो समय दर्शकले रुचाएका कलाकार हुन् । ‘रेशम फिलिली’ ले उनको करिअर धेरै माथि पु–याइदियो । त्यसपछि पनि उनी लगातार फिल्म क्षेत्रमा देखिएका छन् ।
यतिबेला उनी अभिनित फिल्म ‘गरुण पुराण’ रिलिजको क्रममा छ । यो फिल्मपछि भने आफूलाई कुनै फिल्मबाट अफर नआएको कामेश्वरले बताएका छन् । दर्शक तथा समीक्षकले समेत रुचाएका यी कलाकारलाई किन फिल्मबाट अफर नै आउँदैन त? यसको उत्तर स्वयम् कामेश्वरलाई पनि थाहा छैन । कतिपयले भने उनलाई घमण्डी भएको टिप्पणी गर्ने गर्छन् । घमण्डी टिप्पणको प्रतिक्रियामा कामेश्वरले उल्टो प्रतिप्रश्न गर्छन्,‘के म घमण्डी छु र?’
प्रायः मिडियामा पनि नआउने कामेश्वर कामकै माध्यमबाट चिनिन चाहन्छन् । साथै उनी आफू घमण्डी नभएको बरु सीधा बोल्ने बानी भएकाले कतिपयलाई मन पराएको धारणा राख्छन् ।
कामेश्वरलाई नजिकबाट बुझ्नेहरु भने उनको खुलेर तारिफ गर्न पनि पछि पर्दैनन् । यतिबेला फिल्म नपाएर खाली बसिरहेका कामेश्वरको प्रशंसा गर्दै फिल्म ‘गरुड पुराण’ का निर्देशक सुवास कोइराला सुनाउँछन्, ‘कामेश्वरले शुरुमा आफ्नो भूमिका बुझ्न समय लगाउने हुन्, पात्र बुझाउन गाह्रो भएपनि पछि भने उनले निकै नै राम्रो अभिनय गर्छन्, मेरो अनुभवमा चाहिँ उनले निर्देशकले चाहेकोभन्दा धेरै राम्रो काम दिन्छन् ।’
कामेश्वर चौरासिया फिल्म ‘गरुण पुराण’ मा एउटा पीडित भिलेनका रुपमा देखिएका छन्, जसलाई सम्बन्ध पनि बचाउनु छ । बजारको उधारो पनि उठाउनु छ ।
यो चलचित्रमा सुवास कोइरालाको निर्देशन, अजित प्रजापति र अशोक गौतमको निर्माण, उज्जवल ण्कालको सम्पादन, आकाश बरालको संवाद त्यस्तै सुवास कोइराला, विनोद खतिवडा र आकाश बरालको पटकथा रहेको छ ।
फिल्म आउँदो माघ ४ गतेबाट प्रदर्शन हुँदैछ ।
तपाईंको प्रतिक्रिया