खगेन्द्र ज्यू, किन सधै उस्तै भूमिका? − Kalakarita
खगेन्द्र ज्यू, किन सधै उस्तै भूमिका?

सोमबार, वैशाख २४, २०७५, ०९ : १६कलाकारिता

काठमाडौं, २४ वैशाख – अभिनेता खगेन्द्र लामिछाने फिल्म मात्र खेलेका छैनन् । उनको त्यो भन्दा पुरानो ब्याकग्राउण्ड नाटक लेखन र कथा लेखन हो । एक अन्तर्वार्तामा उनले आफू काठमाडौं लेखक बन्न आएको बताएका पनि थिए ।

तर, केही वर्षदेखि उनी फिल्मका अभिनेता भइरहेका छन् । चलचित्र ‘पशुपतिप्रसाद’ ले दिएको क्रेडिटले उनलाई अझै पनि सम्भावना भएका अभिनेताका रुपमा देखाएको छ । उक्त फिल्मपछि बजारमा आएका दुई फिल्म ‘धनपति’ र ‘डमरुको डन्डीबियो’ मा भने उनको अभिनय खासै जादुमयी छैन । फिल्मका पात्रमा फिट देखिएझैं लागेपनि उनका फ्यानले आजभोलि एउटै अभिनय दोहोराइरहेको आरोप लगाउन थालेका छन् ।

अझ भनौं, उनको अभिनय सबै फिल्ममा एउटै भएको भन्दै फ्यान भड्केका छन् । आफैले लेखेको भूमिकामा आफैले अभिनय गर्न पाइरहेका खगेन्द्रले फिल्म अनुसार फरक अभिनय र पात्र जन्माउन सक्नुपथ्र्यो भन्ने सबैको चासोको विषय हुने नै भयो ।

तर, अब उस्तै भूमिका र उस्तै हाउभाउमा प्रस्तुत भइरहने हो भने फ्यानले खगेन्द्रमा जे देखेर तारिफ गरेका थिए, त्यो तारिफ बिस्तारै घट्दै जाने पक्का छ । केही छनक त देखिइसकेको पनि छ ।

खगेन्द्र ज्यू, तपाईंले मेहनत त असाध्यै गर्नुहुन्छ तर सधै उही भूमिकाका लागि मेहनत गर्ने कि फरक फरक पात्र पनि जन्माउँदा राम्रो होला? सधै उही पात्र दोहोरिने हो भने त तपाईंका सबै फिल्म हेर्ने झण्झट किन पो गर्नुपर्‍यो र है?


तपाईंको प्रतिक्रिया