काठमाडौं, १४ वैशाख – केकी अधिकारी निर्मात्री भएको फिल्म भनेर विज्ञापन गरिएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ आजबाट सिनेमाघरमा चल्दैछ । केही कमेडी स्वादको यो फिल्म चल्न सक्ने झिनो सम्भावना किन छ भने, यो चलचित्र पनि कमेडी हो ।
विशाल भण्डारीले निर्देशन गरेको फिल्म यतिबेला निर्देशकभन्दा पनि निर्मात्रीका कारणले चर्चामा छ । फिल्मको विज्ञापन खुलेरै गरिएको छ । केकी, प्रियंका र ऋचा फिल्मको प्रचारमा लागेका छन् । कहिले सेलिब्रेट्रीको घरमा पुगेका छन् त कहिले फ्यानको घरमा ।
गीत सीओडब्लुले त राम्रै चर्चा पाएको हो तर ट्रेलरले भने दर्शकलाई हिस्स पारिदियो । अरु फिल्मको ट्रेलरजस्तै यो फिल्म पनि औसतमा थन्कियो । दर्शकमा फिल्मले क्रेज थप्न सकेन ।
आफ्नै चार फिल्मसँंग प्रतिस्पर्धा गर्न लागेकी प्रियंकाले कोहलपुर एक्सप्रेसको प्रचारमा पनि खुलेरै लागेकी छिन् । तर मुख्य भूमिकामा देखिएका तीन नायिकामाथि भर परेको सिनेमाले दर्शकको कस्तो साथ पाउने हो, त्यो भने हेर्न बाँकी छ ।
प्रोमोसनको धपेडी र ट्रेलरमा कमेडी देखेका दर्शक फिल्म हेर्न हलसम्म पुग्लान् त? अर्कोतिर आजै हलिउड सिनेमा ‘एभेन्जर: इन्फिनिटी वार’ र मिलन चाम्स निर्देशित फिल्म ‘ह्याप्पी डेज’ पनि रिलिज हुँदैछ ।
राम्रो अभिनय गरेर पनि जस नपाउने केकीलाई यो फिल्मले कुन स्वाद दिनेछ, त्यसका लागि केही दिन कुरौं । फिल्म बनाएका अभिनेत्री सफल अभिनेत्री खासै बन्न सकेको देखिँदैन । अब केकीको पोल्टामा कुन ट्याग पर्ने हो ।
तपाईंको प्रतिक्रिया