काठमाडौं, २४ साउन – फिल्म रिलिजको बेला विवादमै आएर भएपनि आफ्नो फिल्मको प्रचार गर्ने ‘निन्जा टेक्निक’ त पुरानो नै हो । यतिबेला भने बजारमा अर्को टेक्टिक पनि उत्तिकै मौलाएको छ । त्यो के भने, आफू राम्रो हुन अर्कालाई नराम्रो बनाइदिने ।
कलाकार तथा नायिका पूजा शर्माले पछिल्लो समय केही फिल्म खेलेर औसत चर्चा कमाएकी छिन् । उनका फिल्म राम्रा होऊन् या नहोऊन् तर कामचलाउ व्यापार गर्ने गर्छन् । कुनै पनि फिल्मले राम्रो व्यापार गर्नु राम्रो पनि हो । यतिबेला भने पूजा शर्मा फिल्मका कारण भन्दा पनि व्यक्तिगत अभिव्यक्तिका कारण चर्चामा छिन् ।
उनले सामाजिक सञ्जाल फेसबूकमार्फत चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई आफ्नो फिल्म ‘रामकहानी’ सँग अर्को फिल्म ‘रोजी’ जुधाएको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।
उनले लेखेकी छिन्,
तर, यति लेख्दा उनले के भने भुलेकी छिन् भने यसअघि जम्मा दुईवटा फिल्म हैन, हप्तैपिच्छे ४ वटासम्म नेपाली फिल्म जुधेका थिए । यो वर्ष पनि रिलिज भएका धेरै फिल्म एक्लै रिलिज हुन पाएका छैनन् । पूजा शर्माको यो अभिव्यक्तिलाई लिएर कतिले ‘हिट हुने निन्जा टेक्निक’ भनेका छन् भने कतिले चर्चामा आउने ‘बाटो’ भनेका छन् ।
आफ्नो फिल्म जुध्दा सिधै आक्रोश र पीडाले भरिएको गुनासोको स्टाटस लेख्ने पूजाले आजसम्म अरुका फिल्म जुधेर निर्माता डुब्दा किन बोल्न सकिनन् होला भनेर धेरैले प्रश्न गरेका छन् ।
एक फिल्मकर्मी भन्छन्, ‘रामकहानी एक्लै रिलिज हुनुपर्छ भनेर कहाँ लेखिएको छ र? अर्को फिल्म जुध्नु त सामान्य नै हो, यसअघि पनि कैयन् फिल्म जुधिरहेका छन् त ।’
स्मरण रहोस्, भदौ २२ मा सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ रिलिज हुँदैछ । फिल्ममा पूजा शर्मा त छँदैछिन्, आकाश श्रेष्ठले पनि मुख्य भूमिका निभाएका छन् । यही मितिमा अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘रोजी’ पनि रिलिज हुने सम्भावना छ ।
दुवै फिल्म एकसाथ रिलिज हुने भएपछि पूजा शर्माले आफू महिला निर्माता भएको भन्दै फिल्म जुधाएर अन्याय गरेको भाव व्यक्त गरेकी छिन् ।
अहिले आएर फिल्म जुध्दा निर्माता डुबेको र निकिता बोर्ड अध्यक्ष भएर ठूलो भाषण गरेको देख्ने पूजाले हिजो चार–चार वटा फिल्म एकसाथ रिलिज भएर निर्माता फस्दा किन निदाएकी थिइन्? निकिता पौडेल बोर्ड अध्यक्ष भएको पूजा शर्माको ‘रामकहानी’ रिलिज हुँदा मात्र त हैन होला ।
तपाईंको प्रतिक्रिया