

काठमाडौं, २ साउन – झण्डै एक वर्षपछि वर्षा शिवाकोटी सिनेमा हलमा देखिँदैछिन् । यसअघि उनी अभिनित चलचित्र ‘कारखाना’ रिलिज भएको थियो । त्यसपछि उनका कुनै फिल्म रिलिज भएका छैनन् । तर, यो बीचमा उनको व्यवस्ता भने एकाएक बढेको छ ।
वर्षौंपछि वर्षाका फ्यानले उनलाई फिल्म ‘भैरे’ मा देख्दैछन् । उक्त फिल्ममा उनी एक्ली हिरोइन त छैनिन् तर उनको मुख्य भूमिका फिल्मका लागि ‘प्लस प्वाइन्ट’ पक्कै हो । यसअघि रिलिज भएको फिल्म ‘कारखाना’ ले हलमा खासै राम्रो प्रतिक्रिया पाउन सकेको थिएन । तर, जब यो फिल्म युट्युबमा सार्वजनिक गरियो, युट्युबमा हेर्ने दर्शकले फिल्मलाई रुचाए । फिल्मले वर्षा शिवाकोटीलाई पनि उत्तिकै चर्चा र प्रतिक्रिया दियो ।
‘हुन त पशुपतिप्रसादको भूमिका सानो भएपनि मलाई उक्त फिल्मबाट धेरैले नोटिस गर्नुभएको थियो, पछिसम्म सम्झँदा पनि खुशी लाग्ने भूमिका छ फिल्ममा’, वर्षा भन्छिन्, ‘कारखाना युट्युबमा रिलिज भएपछि निकै राम्रा प्रतिक्रिया आए, यो फिल्मले मलाई मोफसलका धेरै दर्शकसँग चिनाएको रहेछ ।’
‘हामी फिल्म छायांकनकै लागि भनेर यतिबेला राजधानी बाहिर छौं, मलाई धेरैले कारखानाको हिरोइन भनेरै चिन्नुहुने रहेछ, खुशी लाग्छ ।’, उनी भन्छिन् ।
‘भैरे’ एक वर्षपछि रिलिज हुन लागेकाले पनि चल्छ कि भन्ने लाग्छ वर्षालाई । अन्य फिल्म पाइपलाइनमा त छन् तर रिलिज भएका छैनन् । ‘भैरे मेरा लागि महत्त्वपूर्ण फिल्म पनि हो, यसमा मेरो भूमिका फरक छ’, वर्षा सुनाउँछिन्, ‘फिल्मले विदेशबाट फर्केका नेपालीले आफ्नै गाउँमा केही गर्न सक्छन् भन्ने देखाउन खोजेको छ, फिल्म सन्देशमूलक पनि छ ।’
त्यसो त वर्षाले खासै धेरै फिल्ममा अभिनय गरेकी छैनिन् । तर, जति फिल्ममा उनको अभिनय छ, ती फिल्मले उनलाई चिनाउन मद्दत गरेकै छ । सानो भएपनि चिटिक्कको अभिनय गर्छिन् भन्ने उनले फिल्म ‘पशुपतिप्रसाद’ मा पनि प्रमाणित गरेकी छिन् ।
यतिबेला रिलिजको तयारीमा रहेको फिल्म ‘भैरे’ पनि पूर्ण रुपमा चल्ने उनले आशा व्यक्त गर्छिन् । एभरेस्ट सूर्य बोहराद्वारा निर्देशित फिल्म ‘भैरे’ का बारेमा बताउँदै वर्षा भन्छिन्, ‘फिल्म राम्रो बनेको छ, दर्शकलाई मनोरञ्जन दिन्छ ।’
फिल्म आउँदो शुक्रवार अर्थात् साउन ४ गते देशभर प्रदर्शन हुँदैछ ।
तपाईंको प्रतिक्रिया