भियतनामी लोककथा: कम्मलभित्रको मगन्ते − Kalakarita
भियतनामी लोककथा: कम्मलभित्रको मगन्ते

शनिबार, फागुन १९, २०७४, ०९ : १७केशरी अम्गाईं

सयौं वर्ष अघिको कुरा हो, जङ्गल नजिकको एउटा गाउँमा दुई दाजुभाइ बस्थे । उनीहरूको नाम किम र दे थियो ।

दाजु किम निकै परिश्रमी थियो । जीवनभरिको कडा मिहिनेतले किम गाउँमा धनी बनेको थियो ।

दे अल्छी प्रवृत्तिको मान्छे थियो । खानेकुरा सकियो भने वा जुत्ता वा त्यस्तै केही किन्नु पर्‍यो भने मात्र ऊ काम गर्थ्यो। उसले कहिल्यै कडा मिहिनेत र लामो समय काम गरेन । श्रीमती पाल्न नसक्ने डरले उसले विवाह पनि गरेको थिएन ।

किमको आफू जस्तै मिहिनेती र धनी थुप्रै साथीहरू थिए । साथीहरूको कारण ऊ यति व्यस्त हुन्थ्यो कि उसलाई आफ्नो गरिब र अल्छी भाइको बारेमा सोच्ने फुर्सद हुँदैनथ्यो ।

तर उसकी पत्नी निकै समझदार थिई । ऊ दे आफ्नो मान्छे हो भन्ने ठान्थी । साथीहरू कहिल्यै भाइ जस्तो नहुने उसको विचार थियो ।
‘तिम्रो भाइलाई नदेखेको पनि एक महिनाभन्दा बढी भयो । तिमी किन उनलाई घरमा खाना खान बोलाउँदैनौ !’ एक दिन पत्नीले भनी ।

उसलाई अचम्म लाग्यो । ‘नग्युद, टोन, काओ, ड्युक र अरु साथीहरूले के ठान्लान्– दे जस्तो बेकम्मा मान्छे एउटै टेबलमा बस्दा ! उनीहरूले आफ्नो अपमान ठान्नेछन् र फेरि हाम्रो घरमा आउनेछैनन् ।’ उसले भन्यो ।

‘खासै नराम्रो हुनेछैन । भाइजस्तो साथीहरू हुदैनन् ।’ उसले भनी ।

‘अँ, उनीहरू नआएकै राम्रो ।’ उसले व्यङ्ग्य गर्‍यो । ‘साथीहरू दे जस्तै अल्छी भएका भए गाउँलेहरू भोकभोकै बस्नुपर्थ्यो ।’ उसले थप्यो ।
किमको पत्नीले श्रीमानको जिद्दीको अगाडि वादविवाद गरेर फाइदा नहुने देखी तर उसले एक न एक दिन किमलाई भाइको महत्व बुझाएरै छाड्ने प्रतिज्ञा गरी ।

एक दिन साँझ किम घर फर्कदा उसकी पत्नी काम्दै रोईरहेकी थिई ।

एसले सुकसुकाउदै भनी, ‘साह्रै नराम्रो घटना भयो । जब तिमी काममा गएका थियौ एउटा मगन्ते आएर चोर्ने प्रयास गर्‍यो । मैले बेलैमा थाहा पाइहालेँ अनि कुच्चोले झटारो हानेँ । त्यसले आफ्नो झोली छाडेर भाग्न खोजेको थियो तर दुर्भाग्य त्यो दाउरामा अल्झिएर लड्यो अनि नजिकै रहेको चुल्कढुङ्गामा टाउको ठोक्किएर मर्‍यो ।’

‘त्यो कहाँ छ ?’ किमले आत्तिदै सोध्यो ।

पत्नीले कुनातिर औल्याउँदै भनी, ‘मैले त्यसलाई पुरानो कम्मलले बेरेर राखेको छु । यो मेरो गल्ती होइन, त्यसले हाम्रो घर चोर्न खोजेको थियो तर हाकिमले यो कुरा पत्याउने छैनन् । उनले ठान्नेछन्– मैले असहाय बृद्ध मगन्तेको हत्या गरेँ । हाम्रो सर्वस्व हुने भयो ।’ ऊ झन बढी सुकसुकाउन लागी ।

किम थचक्क बसेर सोच्न लाग्यो । निकै सोच्यो तर हाकिमको अगाडि गएर आफ्नी पत्नीले मगन्तेलाई मारेको कुरा कसरी स्वीकार्ने सोच्न सकेन ।

‘बरु यसो गरौं न हुँदैन ! तिम्रा थुप्रै साथीहरू छन् । कुनै एउटा साथीको सहयोग लिएर जङ्गलमा लगेर गाडिदेऊ । जाबो माग्नेको कसले खोजी गर्छ ? त्यसैले कसैले शङ्का गर्ने छैनन् ।’ पत्नीले सुझाव दिई ।

उसको दिमागमा अरु कुनै उपाय सुझेका थिएन । त्यसैले उसले आफ्नो कोट उन्यो र हतार हतार नाग्युनको घर पुग्यो ।

नाग्युनले किमको कुरा ध्यानपूर्वक त सुन्यो तर जब किमले सहयोगका लागि अनुरोध गर्‍यो तब उसले नकार्दै टाउको हल्लायो र भन्यो, ‘म तिमीलाई सहयोग गर्न चाहन्थे तर हेर न म बुढो छु र कमजोर पनि । लाशलाई म कसरी बोक्न सक्छु र ! तिमी टोनलाई किन भन्दैनौ ?’

‘म तिमीलाई सहयोग गर्न चाहन्थे तर हेर न म बुढो छु र कमजोर पनि । लासलाई म कसरी बोक्न सक्छु र । तिमी टोनलाई किन भन्दैनौ ?’

ऊ टोनको ढोका ढकढक्याउन पुग्यो । ‘किम ! तिमी ! म त तिम्रै बारेमा सोच्द्ये थिएँ । चिया लिन्छौ ?’ टोनले ढोका खोल्दै भन्यो ।
‘मलाई तिम्रो सहयोगको खाँचो छ ।’ उसले घटनाको सारा बेलीविस्तार लगायो ।

किमको कुरा सुन्नासाथ टोनले निकै पीडा भए झैं गरि मुख बिगार्‍यो, आलस तालस भयो र छट्पटाउँदै भुँईमा लड्यो । ऊ कुप्रुक्क परेर पेट हातले थिच्दै एैया एैया गर्न थाल्यो ।

‘यदि अरु समयमा आएको भए तिमीलाई सहयोग गर्न पाउँदा मलाई निकै रमाइलो लाग्थ्यो । तर अहिले त मेरो पेट साह्रै दुखिरहेको छ । यस्तो अवस्थामा म केही बोक्न सक्दिन ।’ उसले कन्दै भन्यो ।

किम अँध्यारोमा टोनको घरबाट बाहिरियो । ‘अब मैले काओसँग सहयोग माग्नु पर्छ ।’ ऊ यही सोचेर काओको घरमा पुग्यो तर काआको घरमा कोही पनि थिएन । त्यस दिन काओ परिवार सहित अर्को गाउँमा निम्ता मान्न गएको थियो ।

‘केही छैन, मेरा थुप्रै साथीहरू छन् । ड्युकलाई भन्नु पर्ला । उसले पक्कै सहयोग गर्नेछ ।’ किम ड्युकको घरतिर लाग्यो ।

ड्युकको घर झिलिमिली बत्तीले धपक्क बलेको थियो । ड्युक आफैंले ढोका खोल्यो र किमको हार्दिक स्वागत गर्‍यो ।

किमले माग्नेसँग घटेका सारा घटना सुनायो अनि सहयोगका लागि अनुरोध गर्‍यो । ड्युकले निकै साखुल्ले बन्दै सान्त्वना दियो, किमकी पत्नीको कुनै दोष नभए कुरा पनि बतायो तर सहयोगका लागि तयार भएन ।

‘सहयोग ! यो सम्भव छैन । ऊ हेर न मेरी श्रीमती साँझदेखि बिरामी परेकी छे । यस्तो अवस्थामा म उनलाई एक्लै छाड्न सक्दिन ।’ उसले भन्यो ।

ऊ लुत्रे कान लगाएर घर फर्कियो अनि एउटै पनि साथीले सहयोग गर्न नचाहेको कुरा बतायो ।

‘असल साथीहरू !’ उसले व्यङ्ग्य गरी । ‘उनीहरू खान पिउन चाहिँ तिमीकहाँ आउँछन् । तिमीलाई सहयोग चाहिँदा चाहिँ कहाँ गए ? सौभाग्यवस् तिम्रो आफ्नै भाइ छ । अब बेर नगर, जाऊ र भाइलाई बोलाएर ल्याऊ ।’ उसले भनी ।

‘उसले किन सहयोग गर्छ मलाई ! उसको लागि के गरेको छु र मैले ?’
‘किन कि ऊ तिम्रो भाइ हो । उसले सहयोग गरेन भने अरु कसैले पनि गर्ने छैनन् ।’

दे विना कुनै बहाना लास गाड्ने काममा सहियोग गर्न तयार भयो । त्यो देखेर किमको आश्चर्यको सीमा रहेन । दुई भाइ मिलेर कम्मलले बेरिएको लाश उठाए अनि जङ्गलमा लगेर एउटा रुख नजिकै गाडेर फर्किए ।

भोलिपल्ट बिहान किम ओछ्यानमा नै थियो । उसकी पत्नी आत्तिदै भित्र पसी र कानेखुसी गरी, ‘किम ! बाहिर मेण्डरिनका तीनजना मान्छेहरू आएका छन् !’

किम उठेर हतार हतार लुगा लगायो र बाहिर निस्कियो ।

‘तिमी र तिम्री पत्नी हामीसँग हिँड ।’, एउटाले भन्यो ।
‘मेण्डरिनले तिमीहरूलाई डाकेका छन् ।’  – अर्कोले थप्यो ।
‘ए ! छिटो गर । मेण्डरिनलाई कुराउनु राम्रो होइन ।’ – तेस्रोले बोल्यो ।

किम र उसकी पत्नी आज्ञाकारी बनेर उनीहरूसँगै मेण्डरिनको महलमा पुगे । उनीहरूलाई एउटा खाली कोठामा राखियो । त्यसको एक घण्टापछि मात्र उनीहरूलाई मेण्डरिनको कचहरीमा प्रवेश गर्ने आदेश पाए ।

किम र उसकी पत्नी आज्ञाकारी बनेर उनीहरूसँगै मेण्डरिनको महलमा पुगे । उनहिरूलाई एउटा खाली कोठामा राखियो । त्यसको एक घण्टापछि मात्र उनीहरूलाई मेण्डरिनको कचहरीमा प्रवेश गर्ने आदेश पाए ।

नग्युन, टोन र ड्युक मेण्डरिनको आसन नजिकै उभिएका थिए । उसलाई अनुमान लगाउन बेर लागेन– साथीहरूले विश्वासघात गरेका थिए । ‘अब के हुने हो ?’ उसको मुटुको धड्कन बढ्दै थियो ।

मेण्डरिनले किमलाई डरलाग्दो आँखाले हेर्दै भने, ‘तिम्री पत्नीले असहाय मगन्तेको हत्या किन गरी ? हिजो राति तिमी यी तीन असल मान्छेहरू कहाँ गएर त्यो लाश लुकाउन सहयोग मागेका थियौ, होइन ?’

किम टाउको झुकाएर उभियो, केही बोलेन ।

‘यी तीन असल मान्छेहरूले जङ्गलसम्म तिम्रो पिछा गरेर त्यहाँबाट लास निकाले अनि मकहाँ ल्याए ।’ मेण्डरिनले भने ।
चारजना नोकरहरूले लास बेरिएको कम्मल बोकेर ल्याए अनि मेण्डरिनको अगाडि राखिदिए । ‘यसलाई खोल ।’ मेण्डरिनले आदेश दिए ।

जब त्यो कम्मल खोलियो सब आश्चर्यमा परे । त्यहाँ कुनै लास नभएर लठ्ठी र ढुङ्गा मात्र थियो ।

मेण्डरिनले रिसाउँदै नग्युन, टोन र ड्युकलाई हेरे, ‘किम र उसकी पत्नीले मगन्तेको हत्या गरे भनेका होइनौ ? खोइ मगन्ते ?’
नग्युन, टोन र ड्युक चुपचाप शीर निहुर्‍याएर उभिएका थिए ।

किमकी श्रीमतीले मेण्डरिनलाई झुकेर अभिवादन गर्दै भनी, ‘माफ पाऊँ सरकार ! यो कथा मैले सिर्जना गरेकी हुँ । किनकि म पतिलाई देखाउन चाहन्थेँ – उनका धनी साथीहरूभन्दा गरीब भाइको माया बढी मूल्यवान् हुन्छ ।’

उसको चलाखी देखेर मेण्डरिन निकै प्रभावित भए । आफ्नो क्षेत्रमा कसैको हत्या नभएकोमा खुसी व्यक्त गदै उनले गाउँलेहरूलाई विदा गरे ।

तर नग्युन, टोन र ड्युक यति लज्जित थिए कि शीर ठाडो गर्ने साहस उनीहरूमा थिएन । उता किमले पनि कम्मलभित्रको मगन्तेबाट सिकेको पाठ कहिल्यै बिर्सेन ।

थी किथ
थी किथ निकै सुन्दर थिई । उसको लामो कपाल लाम्चा चम्किला आँखा थिए । टाढा टाढासम्मका यूवाहरू विवाहको आशा लिएर उसको हात माग्न आएका थिए तर उसले ती प्रस्तावहरूलाई अस्वीकार गरी । उसले आफ्नै गाउँको एउटा गरीब तथा साधारण युवकसँग विवाह गरी ।

अनुवादक केशरी अम्गाईं नेपाली साहित्यमा कलम चलाउँछन् । पेशाले उनी शिक्षक हुन् ।

पछिल्लोपल्ट शुक्रबार, फागुन २५, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया