प्रदीप खड्काको ‘रोजी’ को लफडा अझै सकिएन − Kalakarita
प्रदीप खड्काको ‘रोजी’ को लफडा अझै सकिएन

बुधबार, असार ६, २०७५, ११ : १७कलाकारिता

काठमाडौं, ६ असार – फिल्म ‘रोजी’ युनिट लफडामा फसेको छ । फिल्मको निर्माण टिम र रोजी महर्जनका परिवार आज बैठक बसेपनि निष्कर्षमा पुग्न सकेन ।

चलचित्र विकास बोर्डले केही दिनअघि यो फिल्मको शूटिङ रोकेको थियो । फिल्मको कथा ललितपुरकी रोजी महर्जन हत्याकाण्डसँग मिलेको भन्दै परिवारले फिल्मको शूटिङ रोक्न विकास बोर्डलाई मौखिक रुपमा आग्रह गरेको थियो ।

रोजी महर्जनका परिवारले फिल्मको शीर्षक नै फेर्नुपर्ने अडान राख्दै आएका छन् । रोजी युनिट, विकास बोर्ड र रोजी महर्जनका परिवारबीचको त्रिपक्षीय वार्ता अब भने एक महिनाका लागि स्थगित भएको छ ।

झण्डै सात वर्षअघिको रोजी महर्जन हत्याकाण्डको सतहमा रहेर फिल्म बन्ने भएको भन्दै महर्जनका परिवारले विरोध गरेका थिए ।

निर्देशक निरक पौडेलले फिल्मलाई सुचारु गर्न दिन आग्रह गरेका छन् । फिल्म युनिटले छायांकन रोकिँदा लाखौंको नोक्सानी भएको बताएको छ । फिल्म युनिटले भने चलचित्रमा कथा नमिलेको भन्दै पूरै कथासमेत सुनाएका थिए । मिडियामा रोजीको घटनालाई लिएर फिल्म बनेको भन्ने समाचार आएपछि यो लफडा निम्तिएको थियो ।

गोपीकृष्ण मुभिज प्रा.लि. ब्यानरमा निर्माण भइरहेको चलचित्र रोजीमा अहिलेका चल्तीका कलाकारहरु प्रदीप खड्का, पारमिता राज्य लक्ष्मी राणा, मिरुना मगर, कर्मा, बरुण लगायतका कलाकारहरुले काम गरेका छन् । नेपालसँगै विदेशमा छायाँकन हुने चलचित्रलाई राजुविक्रम थापाले खिचिरहेका छन् ।


तपाईंको प्रतिक्रिया