

- मोहन ठकुरी
कल्पनाको अगणित
आत्मविस्मृत रंग
इन्द्रेणीको रंग
जडिएको
पोतिएको
पखेटामा मेरो ।
नीलो आकाश छु
आकाश छु नीलो
अदम्य आकाङ्क्षाको
शिखरमा उभिएको
शीर्ष बिन्दु छु
माथि छु ।
गोप्य सम्भावनाका गहिरो
सागर छु
सागर छु गहिरो
केही क्षण शान्त
अनेक क्षण तरङ्गित छु ।
कचिङगलको कंस
करुणाको कृष्ण
दुःसाहसको दुःशासन
प्रेम प्रणयको प्रतिबिम्ब
बुद्घको वैराग्यबीच
म छु यस्तो
यस्तो म छु ।
कल्पनाको आकाशमा
यानविहीन असीमित उडान
अघिअघि शब्दको म छु
म छु शब्दको अघिअघि ।
तरुणीको यौवनको
चञ्चलता सधै
चाउरिएको अनुहारमा पनि
वसन्त सधै
असङ्ख्य अभिप्राप्तिमा पनि
असन्तुष्ट सधै
नरक भोगको कारण म
म नै कारण मोक्ष प्राप्तिको
रत्नकार पनि म
वाल्मीकि पनि म
इच्छा र विचारको
समूह म ।
समयमा अडेसिएर
कुनै क्षण
बिसाउन पनि छैन
ध्यानमग्न हुनु पनि छैन
सुनिरहेको आज पनि
म
पाउजेबको
मधुर झङ्कार
मेनकाको ।
तपाईंको प्रतिक्रिया