शत्रु गतेले पायो तारिफै तारिफ, कस्तो छ फिल्म? − Kalakarita
शत्रु गतेले पायो तारिफै तारिफ, कस्तो छ फिल्म?

आइतबार, चैत्र ११, २०७४, ०९ : १८कलाकारिता

काठमाडौं, ११ चैत – चलचित्र ‘शत्रु गते’ रिलिज भएसँगै फिल्मले तारिफै तारिफ बटुलेको छ । कमेडी जानराको चलचित्र चैत्र ९ देखि प्रदर्शनमा आएको थियो । शुक्रवार र शनिवारको हल रिपोर्ट हेर्दा (खासगरी काठमाडौंमा) चलचित्रले राम्रो दर्शक पाएको छ । काठमाडौंका मल्टिप्लेक्स हलमा दर्शक अझ बढी देखिएका छन् भने सिंगल थिएटरमा पनि फिल्म हेर्न सबैखाले दर्शक आएका छन् ।

मह जोडी, दीपक–दीपा, प्रियंका कार्की, शिवहरि पौडेल, किरण केसी, पल शाह, आँचल शर्मा लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् । फिल्ममा प्रदीप भट्टराई र दीपकराज गिरीको स्किृप्ट छ । त्यस्तै फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् ।

कस्तो छ फिल्म?

चलचित्र ‘शत्रु गते’ हेरुञ्जेलका लागि भरपूर मनोरञ्जनको प्याकेज हो । फिल्म हेरिसक्दा दर्शकलाई कथाले बाँधेर लाग्छ । केही लामो हो कि भन्ने लागेपनि पात्रको प्रस्तुतिकरण र संयोजनले फिल्मलाई हेर्नलायक बनाएको छ । कमेडी चलचित्र हेर्ने दर्शकका लागि यो चलचित्र राम्रो खुराक बन्न सक्छ ।

अझ अर्को पक्ष त के पनि हो भने पछिल्लो समय दुवीअर्थी शब्द बोलेर जबरजस्ती दर्शक हँसाउन खोज्ने प्रवृत्तिबाट यो फिल्म पूर्ण मुक्त छ । फिल्मका संवादले भने दर्शकलाई हँसाइराख्छन् । फिल्म पारिवारिक कथामा बनेको पारिवारिक कथा हो । तर, यसले युवापुस्ताको प्रेमलाई पनि स-सम्मान सम्बोधन गरेको छ ।

कथा जसको वरिपरि घुमेपनि फिल्मको मेरुदण्डका रुपमा अभिनेता हरिवंश आचार्य देखिएका छन् । यदि उनलाई फिल्मबाट झिकिदिने हो भने फिल्मले आफ्नो लय गुमाउन थालिहाल्छ ।

तर, फिल्ममा त्यस्ता केही मुख्य कलाकार नै छन्, जो हुँदा र नहुँदा खासै फरक पर्दैन ।

फिल्मका गीत संगीत पनि राम्रा छन् । युट्युबरले पैसा कमाउन गर्ने अभ्यासलाई घुमाउरो पारामा सटिक व्यङ्ग्य हानिएको छ । पल र आँचलको बिहेका लागि दौडिरहेको फिल्मले शुरुदेखि अन्त्यसम्म आफ्नो मूल कथावस्तु भने गुमाएको छैन ।

पछिल्लोपल्ट सोमबार, चैत्र १२, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया