मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक: सामाजिक सञ्जालमा कसले के भने? − Kalakarita
मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक: सामाजिक सञ्जालमा कसले के भने?

मंगलबार, चैत्र २०, २०७४, १० : १९कलाकारिता

काठमाडौं, २० चैत – वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । लामो समयदेखि क्यान्सरबाट पीडित यशोदा श्रेष्ठको उपचारका क्रममा गए राति निधन भएको हो ।

उनलाई उपचारका लागि हरिसिद्धिस्थित क्यान्सर अस्पताल लगिएको थियो । उनलाई आजै काठमाडौंको आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने भएको छ ।

यसैबीच सामाजिक सञ्जालमार्फत मदनकृष्ण पत्नी यशोदालाई थुप्रै प्रशंसकले समवेदना दिएका छन् । महका ‘ह’ हरिवंश आचार्यले सामाजिक सञ्जालको फेसबूक पेजमा समवेदना प्रकट गरेका छन् । ‘आदरणीय मदन दाइकी धर्मपत्नी यशोदा भाउजू हामीमाझ रहनुभएन, भाउजूप्रति हार्दिक श्रद्धाञ्जली । हामी सबै सधैझैं मदन दाइको साथमा छौं ।’, आचार्यले लेखेका छन् ।

त्यस्तै रुटिन अफ नेपाल बन्द पेजले लेखेको छ, ‘आफ्ना अभिनय/गीतमार्फत हाम्रो दुःखलाई बिर्साएर हामीलाई सधै हँसाउने मदनकृष्ण श्रेष्ठ दाइलाई स्मरण शक्तिमा ह्रास आउने पार्किन्सन्स रोग लागेर टाउकोमा मेमोरी चिप्स लगाइराख्नुभएको छ, चिप्सलाई आवश्यक पर्ने इनर्जीका लागि छातिको भित्री भागमा ब्याट्री जडित छ, जसलाई १५/१५ दिनमा चार्ज गर्नुपर्दछ’, पेजमा लेखिएको छ, ‘यस्तो अवस्थामा उहाँलाई पत्नीशोक परेको छ, भगवानले सहने शक्ति दिऊन् ।’

सोही पोस्ट शेयर गर्दै निर्देशक प्रदिप भट्टराईले लेखेका छन्, ‘मदन दाइ, हजुरको दुःखमा सधैझैं साथ दिने हरि दाइ हुनुहुन्छ, हामी पनि छौं है !’

अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमा यशोदाको निधनले स्तब्ध भएको लेखेका छन् ।

‘जिन्दगीको के भरोसा यो त सानो खेलौना हो, आदरणीय यशोदा भाउजूको खबरले स्तब्ध छु, अन्तिम अवस्थासम्म पनि आफ्नो पीडा लुकाएर हाँसिरहन सक्नुहुन्थ्यो, किनकि आफ्नो पीडाले परिवार दुःखी नहोऊन् भनेर’, गिरीले लेखेका छन्, ‘यस्तो साहसी र ममतामयी भाउजूलाई हृदयदेखि हार्दिक श्रद्धाञ्जली ।’

हास्य अभिनेता केदार घिमिरेले मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदाको निधनले कला क्षेत्र नै शोकाकुल भएको लेखेका छन् । ‘महका म अर्थात हाम्रा अति आदरणीय पुज्य दाजु, सम्पूर्ण नेपालकै ढुकढुकी, वरिष्ठ हास्यकलाकार मदन दाइकी धर्मपत्नी, आदरणीय भाउजू मेरो प्यारो मित्र यमन श्रेष्ठकी आमा यशोदा सुवेदी श्रेष्ठको गए राति उपचारकै क्रममा भएको स्वर्गारोहणले सम्पूर्ण कला क्षेत्र नै शोकाकुल बनेको छ’, केदारले लेखेका छन्, ‘भाउजूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने ईश्वरसँग कामना गर्दछु ।’

त्यस्तै दीपाश्री निरौलाले पनि सामाजिक सञ्जाल फेसबूकमार्फत समवेदना प्रकट गरेकी छिन् । ‘आदरणीय भाउजू अब हामीमाझ रहनुभएन तर मन र मष्तिष्कमा रहिरहनुहुन्छ, भाउजूको स्वर्गमा बास होस्, हार्दिक श्रद्धाञ्जली भाउजू ।’, उनले लेखेकी छिन् ।

अर्का अभिनेता तथा हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले पनि समवेदना प्रकट गरेका छन् । ‘हास्यव्यङ्ग्यका पितामह, धुर्मुस सुन्तली फाउन्डेसनका सल्लाहकार तथा हाम्रा गुरु आदरणीय मदनकृष्ण श्रेष्ठ ज्यू की धर्मपत्नी तथा एक उत्प्रेरक नारी आदरणीय यशोदा भाउजूप्रति हार्दिक श्रद्धाञ्जली ।’, उनले लेखेका छन् ।

नयाँ शक्तिकी नेतृ तथा अभिनेत्री करिष्मा मानन्धरले पनि बिहानी दुःखद समाचार सुन्नपरेको लेखेकी छिन् । ‘अस्ति भर्खरै भेट्दा दादा भाउजूलाई कस्तो छ भनेर सोध्दा दादाले हाँसेर ठीकै छ भन्नुभएको सम्झें, ईश्वरले मदन दादा, यमन भाइ र सम्पूर्ण परिवारलाई यो पीडा सहन सक्ने शक्ति प्रदान गरुन्, आदरणीय भाउजूमा भावपूर्ण श्रद्धाञ्जली ।’, उनले लेखेकी छिन् ।

मदनकृष्ण र यशोदा सुवेदी श्रेष्ठबीच प्रेम विवाह भएको थियो । अन्तर्जातीय विवाह गरेका मदन र यशोदालाई त्यतिबेलाको समाजअनुसार केही समस्या आएका थिए । मदनकृष्णले गीत पनि गाउँथे । उनका गीत सुनेर यशोदा प्रभावित भएकी थिइन् । र दुवैबीच प्रेम बसेको थियो । र‌‌, जात नमिलेका कारण मागी बिहे गर्न असम्भव भएपछि यशोदाले मदनकृष्णसँग भागी विवाह गरेकी थिइन् ।


तपाईंको प्रतिक्रिया