सुबिन भट्टराईको उपन्यास ‘प्रिय सुफी’ को विमोचन, पाठकको क्रेज (फोटो/भिडियो) − Kalakarita
सुबिन भट्टराईको उपन्यास ‘प्रिय सुफी’ को विमोचन, पाठकको क्रेज (फोटो/भिडियो)

शनिबार, असोज ६, २०७५, ०८ : १९कलाकारिता

काठमाडौं, ६ असोज – युवापुस्तामाझ लोकप्रिय लेखक सुबिन भट्टराईको उपन्यास ‘प्रिय सुफी’ को विमोचन गरिएको छ । काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा उपन्यास विमोचन गरिएको हो ।

सुबिनसँगै नायिका आँचल शर्मा, गायिका शीतल मोक्तान र सुवानी मोक्तानले एकसाथ पुस्तक विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै मोटिभेसनल स्पिकर गणेश अंगम ढुंगानाले उपन्यासले आफ्नो मन जितेको बताए । उनले यो उपन्यासमार्फत लेखकले सन्देश समेत दिन खोजेको बताए ।

प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा सुबिनका सयौँ फ्यानहरुको उपस्थिति थियो । पुस्तक विमोचनमा नायिका आँचल शर्माले यो पुस्तकले युवापुस्ताको मन जित्ने विश्वास व्यक्त गरिन् । साथै उनले यसअघि आफूले ‘समर लभ’ पढेर सुविनलाई चिनेको पनि बताइन् ।

‘पहिलोपटक मैले सुबिन भट्टराई (दाइ) लाई समर लभ पढेर नै चिनेकी हुँ, यो पुस्तकले पनि सबैको मन पक्कै जित्नेछ ।’, आँचलले भनिन् ।

कार्यक्रममा सुबिन भट्टराईले यसअघिका कृतिजस्तै यो पुस्तक पनि पाठकले मन पराइदिने विश्वास व्यक्त गरे । साथै उनले पुस्तक पढेर सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया दिनका लागि आग्रह समेत गरे ।

कार्यक्रम सकिएपछि पुस्तक छुटमा विक्रीसमेत गरिएको थियो । लेखक भट्टराईसँग पुस्तक हस्ताक्षर गर्न पाठकको भीड नै लागेको थियो । धेरै भीड भएपछि आयोजकले पाठकलाई लाइन लागेर पुस्तकमा हस्ताक्षर गर्न आग्रहसमेत गरेका थिए ।

फाइनप्रिन्टले बजारमा ल्याएको उपन्यास ‘प्रिय सुफी’ को मूल्य रुपैयाँ ३ सय ७५ तोकिएको छ । यो लेखकको पाँचौ कृति हो ।

भिडियो हेर्नुहोस्ः

 

तस्वीर/भिडियो: अर्घेलो थापा/कलाकारिता

 

पछिल्लोपल्ट आइतबार, असोज ७, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया