‘रोज’ भर्सेस ‘रामकहानी’: प्रदीपको लडाइँ पूजासँग मात्र कि यी स्टारसँग पनि? − Kalakarita
‘रोज’ भर्सेस ‘रामकहानी’: प्रदीपको लडाइँ पूजासँग मात्र कि यी स्टारसँग पनि?

बिहीबार, भाद्र २१, २०७५, ०८ : २०कलाकारिता

काठमाडौं, २१ भदौ – अभिनेता प्रदीप खड्का र पूजा शर्माले ‘प्रेमगीत’ मा एकसाथ काम गरे । यो फिल्मको दुवैको करिअरमा उत्तिकै फाइदा पु–यायो । पूजा र प्रदीपका विभिन्न गसिप मात्र बाहिर आएनन्, त्यतिबेला दर्शकले पूजा र प्रदीपलाई सुहाउँदो जोडी भनेर तारिफ गरिदिए ।

तर, फिल्मी जोडी सधैका लागि हुने कुरा पनि भएन । किनकि, कालान्तरमा दुवैले फरक फिल्ममा काम गर्ने व्यावसायिक कार्य नै भयो । तर, यतिबेला संयोग कस्तो परेको छ भने प्रदीप र पूजाका दुई फरक फिल्म एकसाथ जुधेका छन् ।

यो फिल्मी ‘भाले जुधाइ’ मा दुवैलाई घाटा पनि हुन सक्छ । उत्तिकै नाफा पनि हुन सक्छ । या त, व्यापारको तराजुमा एउटाको पोल्टामा मात्र सफलता अटाउन सक्छ । फिल्म रिलिजअघि प्रदीप खड्का अभिनित ‘रोज’ र पूजा शर्मा अभिनित ‘रामकहानी’ दुवैले उत्तिकै चर्चा कमाएका छन् । दुवै फिल्मका टिम खुलेरै विभिन्न माध्यमबाट दर्शकमाझ पुगेका पनि छन् ।

त्यसो त पूजा र प्रदिपलाई चर्चित बनाएको पहिलो फिल्म पनि ‘प्रेमगीत’ नै हो । त्यसयता यी दुई नामबीच शितयुद्ध शुरु भयो । पछिल्लो क्रममा हुँदै गरेको दुई फिल्मको फाइटलाई एक अर्काको इगो भन्नेहरु पनि धेरै छन् । प्रदिपकै इच्छामा रामकहानीसँग ‘रोज’ जुध्न आएको चर्चा समेत सिनेवृत्तमा छ ।

रिलिजअघि लगभग बराबर हाइप बनाए पनि प्रदीपका फ्यानले ‘रोज’ का लागि क्याम्पेनिङ गरिरहेका छन् भने पूजाका फ्यानले पनि ‘रामकहानी’ को तारिफ गरिरहेका छन् ।

अझ अर्को रमाइलो पक्ष त के पनि छ भने गीत तथा ट्रेलरका हिसाबले पनि दुवै फिल्मको हाइप झण्डै उस्तै छ । समानान्तर गतिमा गइरहेका यी दुई फिल्म विधागत हिसाबले भने फरक छन् । प्रदीपको ‘रोज’ सस्पेन्स थ्रीलर हो भने पूजाको ‘रामकहानी’ लाई हरर कमेडी भनिएको छ । दुवै फिल्मका एक/एक गीत चर्चाका हिसाबले झण्डै बराबरी हिसाबमा छन् ।

तर, प्रदीप एक्लैले फ्यानलाई हलसम्म तान्नुपर्ने छ । किनकि, फिल्मका मुख्य नायिका मिरुना मगर र परमिता राना खासै प्रचारमा पनि खुलेका छैनन् । अर्का अभिनेता कर्म शाक्यले त झन् नाकमुख देखाएका छैनन् ।

यता ‘रामकहानी’ को प्रचारमा जितु नेपाल, सुदर्शन थापा, केदार घिमिरे (माग्ने बूढा), पूजा शर्मा र मुख्य अभिनेता आकाश श्रेष्ठ निरन्तर प्रचारमा जुटेका छन् । फ्यानसँग फिल्मको प्रचार विभिन्न माध्यमबाट गरिरहेका छन् ।

यसरी केलाउँदा प्रदीप एक्लैले ‘रामकहानी’ का कैयन् स्टारसँग जुध्नुपर्ने देखिन्छ । यो आधारले फिल्म एकनासले चल्ने देखिन्छ ।

यति हुँदाहुँदै पनि फिल्मको पूर्वसमीक्षा गर्ने हो भने अहिले दुवै फिल्मको बजार झण्डै उस्तै देखिएको छ । अर्कातिर मल्टिप्लेक्स हलमा प्रदीपको फिल्म ‘रोज’ ले धेरै शो पाएको छ ।

मान्नुपर्छ, दुवै फिल्मका कलाकार खटिएका छन् । आफ्नो फिल्म चलाउनका लागि लागिपरेका छन् । निर्देशकलाई हेर्दा सीधा के भन्न सकिन्छ भने बरु ‘रामकहानी’ का निर्देशक सुदर्शन थापाले सफल फिल्म दिएका छन् तर ‘रोज’ का निर्देशकले फ्लप फिल्ममात्र दिएका छन् ।

त्यसो त बजारको आँकलनमा ‘रोज’ पनि आफैमा पावरफूल फिल्म छ । तर, सरसर्ती हेर्दा प्रदीप खड्काको एक्लो लडाइँ पूजा शर्मासँग मात्र नभएर, जितु, केदार, सुदर्शन र आकाशसँग देखिन्छ ।

यद्यपि फिल्म रिलिज हुन केही घण्टा मात्र बाँकी हुँदा देखाएको बजारको हाइपले भने दुवै फिल्म साँढेझैँ जुध्ने लगभग पक्का छ ।

पछिल्लोपल्ट मंगलबार, असोज २, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया