काठमाडौं, २५ असार – मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि श्रेष्ठ आठ पुस्तकहरुको सूची सार्वजनिक गरेको छ ।
पुरस्कार सिफारिसका लागि गठन गरिएको छनोट समितिले आठ पुस्तकको सूची सार्वजनिक गरेको हो ।
मदन पुरस्कार गुठीको विधानअनुसार बढीमा दश पुस्तक सिफारिस गरिने व्यवस्था छ । वि.सं. २०७४ सालमा प्रकाशित पुस्तकमध्येबाट सिफारिसमा परेकामध्येबाट एक पुस्तकले मदन पुरस्कार पाउनेछ ।
पुरस्कारका लागि गुठीमा प्राप्त भएका कूल २ सय ५३ पुस्तकमध्ये आठ पुस्तक छनोट गरिएको मदन पुरस्कार गुठीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
वर्ष २०७४ को मदन पुरस्कारका लागि ध्रुवसत्य परियारको कैरन, सरस्वती प्रतीक्षाको नथिया, तीर्थ गुरुङको पाठशाला, यज्ञशको भुइयाँ, त्यस्तै नयनराज पाण्डेको यार, नीलम कार्की निहारिकाको योगमाया, राज माङलाकको लिम्बुनी गाउँ र नेता मोहन वैद्य ‘किरण’ को हिमाली दर्शन गरी आठ पुस्तक सिफारिसमा परेका छन् ।
यीमध्ये कुनै एक पुस्तकले यस वर्षको मदन पुरस्कार पाउनेछ । गतवर्ष गुठीले घनश्याम कँडेललाई ‘धृतराष्ट्र’ का लागि मदन पुरस्कार प्रदान गरेको थियो ।
वि.सं. २०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार हरेक वर्ष कुनै एक लेखकलाई प्रदान गरिँदै आएको छ ।
साहित्य क्षेत्रमा ठूलो पुरस्कारका रुपमा हेरिने मदन पुरस्कारको राशी रु. दुई लाख रहेको छ ।
पछिल्लोपल्ट बुधबार, असार २७, २०७५ मा अपडेट गरिएको ।
तपाईंको प्रतिक्रिया