मिलन चाम्सको प्रदीपसँग ‘फाइट’ पर्नु र अनमोल केसीलाई लिनुको राजनीति − Kalakarita
मिलन चाम्सको प्रदीपसँग ‘फाइट’ पर्नु र अनमोल केसीलाई लिनुको राजनीति

सोमबार, जेठ १४, २०७५, १० : २०कलाकारिता

काठमाडौं, १४ जेठ – दुई युवा स्टारले यतिबेला आफ्नो क्रेज जोगाएर राखेका छन् । अनमोल केसी र प्रदीप खड्का अरु युवा कलाकारका तुलनामा अलिक बढी संयमित हुँदै फिल्म खेलिरहेका छन् । सम्भावना देखाएका अन्य कलाकारले झैं म्युजिक भिडियोलाई पनि समय दिएका छैनन् ।

केही दिन अघि प्रदीप फिल्म ‘रोजी’ को मुहूर्तमा भेटिए । उनको लूक पूरै फरक थियो, फिल्मका लागि भनेर उनले दाह्री पालेका थिए, कपाल झल्लु बनाएका थिए । उनी अहिले रोजीको फिल्ममै व्यस्त छन् । फिल्म ‘लिलिबिली’ बाट औसत प्रतिक्रिया पाएका प्रदीपले लगत्तै अर्को फिल्म थालेका थिए । उनको सम्बन्ध मिलन चाम्ससँग सुमधुर रहिरहन सकेको थिएन । यस्तै यस्तै थियो ।

यता अर्का अभिनेता अनमोल केसी पनि ब्याक टु ब्याक फिल्ममा अनुबन्ध भइरहेका छन् । दुवैले आ-आफ्ना फ्यान त कमाएका छन् तर अनमोल र प्रदीपबीच आन्तरिक प्रतिस्पर्धा देखिन्छ । अर्को कुरा त लिलिबिलीका अभिनेता प्रदीप खड्कासँग मिलन चाम्सको सम्बन्ध राम्रो छैन, यसको इगो चाम्समा कतै न कतै पक्कै छ ।

शायद यही कारणले पनि हुनुपर्छ, मिलनले अनमोललाई लिन चाहन्थे । अहिले तत्कालको परिवेशलाई हेर्ने हो भने प्रदीपलाई उछिनेका कोही युवा अभिनेता छन् भने उनी अनमोल नै हुन् ।

अर्कातिर मिलन चाम्स एउटा ब्लकबस्टर फिल्म बनाउन चाहन्छन्, जुन फिल्म अनमोलको क्रेजले चल्न सक्छ भन्ने उनलाई लागेको हुनुपर्छ ।

यी तीनको इगोले फाइदा भने नेपाली फिल्मलाई नै छ । त्यो कसरी भने प्रतिस्पर्धाकै लागि भए पनि आफ्नो तर्फबाट उनीहरूले राम्रो फिल्म बनाउने प्रयास गर्नेछन् । जसका कारण फिल्म राम्रो बन्नेछ र दर्शक तान्नेछ । अब बन्ने अनटाइटल फिल्ममा अनमोल त एउटा आकर्षण मात्र हुन् । फिल्मको टिमअप पनि ‘लिलिबिली’ कै छ । विदेशमै शूटिङ हुने यो लभस्टोरी फिल्म चल्यो भने त मिलनको चाहना पूरा हुने भयो तर कतै चुके भने उनलाई उठ्न अझै गाह्रो हुनेछ ।

भलै त्यो राजनीति नै किन नहोस्, तर अब मिलन चाम्सले गर्न लागेको प्रोजेक्ट अनमोल केसीका कारण चल्ने होइन, राम्रो फिल्म भएका कारण चल्ने खालको बन्न अत्यन्तै आवश्यक छ । अनमोलको भरमा पर्नुभन्दा राम्रो फिल्म बनाउनेतिर लाग्नुपर्ने अपरिहार्य छ ।


तपाईंको प्रतिक्रिया