

काठमाडौं, ५ जेठ – भारतीय टिभी च्यानलबाट प्रसारण हुने ‘डीआइडी–३’ र ‘झलक दिगला जा’ बाट चर्चामा आएका नेपाली चेली तेरिया मगर एक फिल्म खेल्ने भन्ने हल्ला फैलिएको थियो । एक फिल्ममा विना पारिश्रमिक अभिनय गर्ने भन्ने हल्लाको उनले खण्डन गरेकी छिन् ।
विभिन्न सञ्चार माध्यममा आएका समाचारलाई खण्डन गर्दै तेरिया मगरले आफूले कुनै फिल्ममा अभिनय गर्न नलागेको बताएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै भ्रामत्मक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएकी छिन् ।
‘म आजका दिनसम्म कुनै पनि फिल्मका लागि अनुवन्धित भएकी छैन, साथै म फिल्म खेल्ने तयारीमा पनि छैन,’ उनले लेखेकी छिन्, ‘झुटो समाचारले मेरा शुभचिन्तकहरुमा पलाएको उत्साह र निरासाप्रति क्षमा याचना गर्न चाहन्छु ।’
साथै उनले सत्य तथ्य नबुझी समाचार नलेख्न सबैलाई अनुरोध पनि गरेकी छिन् ।
नेपालमा मात्र नभएर भारतीयमाझ पनि लोकप्रिय तेरिया मगर डान्सकै माध्यमबाट चर्चित बनेकी हुन् । उनले नेपाली फिल्म ‘मायाको मोल’ मा निःशुल्क अभिनय गर्ने समाचार लेखिएका थिए ।
तपाईंको प्रतिक्रिया