निर्माताको आन्दोलनका कारण ‘ब्ल्याक’ को रिलिज मितिमा हेरफेर − Kalakarita
निर्माताको आन्दोलनका कारण ‘ब्ल्याक’ को रिलिज मितिमा हेरफेर

बिहीबार, जेठ १०, २०७५, ११ : २१कलाकारिता

काठमाडौं, १० जेठ – यही जेठ ११ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘ब्ल्याक’ को रिलिज मिति सरेको छ । वैशाखको अन्तिममा चलचित्र निर्माता संघले गरेको आन्दोलनका कारण प्रचारमा असर परेपछि फिल्मको रिलिज मिति सरेको हो ।

साथै चलचित्रले नयाँ रिलिज मिति समेत तोकेको छ ।  अब फिल्म भदौ १ मा रिलिज हुनेछ ।

फिल्मको ट्रेलर अझै सार्वजनिक गरिएको छैन । केही दिनमा ट्रेलर रिलिज गरिने निर्माण टिमले बताएको छ । साथै फिल्मले अब प्रचारलाई पनि तीव्र बनाउने भएको छ । फिल्ममा आकाश श्रेष्ठ र आँचल शर्माको मुख्य भूमिका रहेको  छ ।

प्रदिप श्रेष्ठको निर्देशनमा बनेको फिल्म लभस्टोरी जनरामा आधारित छ । आश्मा पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा आँचल शर्मा र आकाश श्रेष्ठ लिड अभिनयमा छन् । पछिल्लो पुस्ताका चल्तिका अनि चर्चाका दुई अनुहार फिल्ममा रहँदा युवा दर्शकको उल्लेख्य साथ पाउने आशा ‘ब्ल्याक’ टिमले बोकेको छ ।

फिल्म मौनता श्रेष्ठको कथामा तयार भएको हो । ‘ब्ल्याक’मा कोरियोग्राफी रामजी लामिछानेको छ भने छायाँकन रामशरण उप्रेतीले गरेका छन् । फिल्ममा आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लिड अभिनयमा छन् । द्वन्द्व चन्द्र पन्तको रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । उपत्यकामा गोविन्द शाही र मोफसलमा उज्जल पौडेल, मनोज राठीले ‘ब्ल्याक’लाई वितरणको जिम्मा लिएका छन् । भिएफएक्समा समिरसँग श्रीकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् ।


तपाईंको प्रतिक्रिया