रंगकर्मी अनुप बराललाई ‘शिरोमणि पुरस्कार’ − Kalakarita
रंगकर्मी अनुप बराललाई ‘शिरोमणि पुरस्कार’

शनिबार, जेठ १९, २०७५, १० : २१कलाकारिता

पोखरा, १९ जेठ – लामो समयदेखि नाट्य क्षेत्रमा योगदान पु–याएका नाट्यकर्मी तथा निर्देशक अनुप बराललाई पोखरेली युवा सांस्कृतिक परिवारले सम्मान गरेको छ । उनलाई शिरोमणि पुरस्कारले सम्मानित गरिएको हो ।

उनलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार हस्तान्तरण गर्दै सरुभक्तले आफू पहिलेदेखि नै अनुपको प्रशंसक भएको बताए ।

पुरस्कारको राशी १५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । सांस्कृतिक परिवारले हरेक दुई–दुई वर्षमा यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । यसअघि १२ जनालाई पुरस्कृत गरिसकेको परिवारका अध्यक्ष दीपक समीपले बताए ।

रंगकर्मी बरालले पोखरालाई कलाका माध्यमबाट चिनाएको र पोखरेली नाटकमा पनि उनको योगदान दिएको पुरस्कार छनोट समितिका संयोजक कवि तीर्थ श्रेष्ठले बताए ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीपले रंगकर्मको माध्यमबाट अनुपले गुन लगाएको बताए । पुरस्कृत भएका अनुपले आफू बुबा दुर्गा बरालको प्रेरणाबाट कलाकारिता क्षेत्रमा लागेको बताए । साथै आफ्नै रुचिले रंगकर्म रोजेको र पुरस्कृत भएपछि अझै जिम्मा थपिएको पनि उनले बताए ।

अनुप बराल वरिष्ठ चित्रकार तथा कार्टुनिस्ट दुर्गा बराल ‘वात्सायन’ का पुत्र हुन् । उनले काठमाडौंमा एक्टर स्टुडियो सञ्चालन गरेका छन् भने फिल्म र नाटकमा व्यस्त छन् । उनी अभिनित चलचित्र डमरुको डन्डिबियो केही समयअघि सिनेमा घरमा रिलिज भएको थियो ।


तपाईंको प्रतिक्रिया