नेपाल आइडलका सुमित र अस्मिताले एकसाथ लाइभ आएर भने – ‘सबै हल्ला हो, मिस अन्डरस्ट्यान्डिङ भयो’ − Kalakarita
नेपाल आइडलका सुमित र अस्मिताले एकसाथ लाइभ आएर भने – ‘सबै हल्ला हो, मिस अन्डरस्ट्यान्डिङ भयो’

सोमबार, मंसिर २४, २०७५, १० : २२कलाकारिता

काठमाडौं, २४ मंसिर – ‘नेपाल आइडल सिजन २’ बाट एकाएक चर्चामा आएका सुमित पाठक र अस्मिता अधिकारीले एकसाथ फेसबूकमा लाइभ आएर सामाजिक सञ्जाल र केही पेजमा आएका विभिन्न हल्लाको खण्डन गरेका छन् ।

केही दिनदेखि आइडलका प्रतिस्पर्धी सुमित पाठकले अस्मितालाई गाडी चढ्न नदिएको भन्ने आशयको भिडियो भाइरल भएपछि सुमितका फ्यानले समेत उनको विरोध गरेका थिए । भिडियो भाइरल भएर सुमितको चर्को विरोध भइरहँदा कतिपयले सुमितले ‘आफ्नो धरातल भुलेको’ समेत भन्ने खालका कमेन्ट गरेका थिए ।

लाइभ आएर सुमितले आफूले गाडी चढ्न नदिने मनशायले त्यस्तो केही नभनेको बताएका छन् भने यो घटनामा आफूहरु अन्जान भएको समेत बताएका छन् ।

अस्मिताले पनि सुमितलाई सपोर्ट गर्दै सुमित र आफूबीच दिदीभाइको जस्तो राम्रो सम्बन्ध भएको र गाडीमा चढ्न नदिएको भन्ने चाहिँ मिस अन्डरस्टान्डिङ भएको र पछि एकैपटक समाचार आएपछि मात्र यसबारेमा थाहा पाएको बताइन् । उनले भनिन्, ‘हाम्रो सम्बन्ध पछिसम्मका लागि पनि हो, हामीबीच कुनै झगडा छैन, यो मिस अन्डरस्टान्डिङ हो ।’, अस्मिताले भनिन् ।

साथै उनले बनिरहेको इस्यु र हल्लाको विषयमा माफी समेत मागिन् । उनले भनिन्, ‘इस्यु बनेको छ, त्यसका लागि हामीले माफी माग्छौँ ।’

तस्वीर क्रेडिट: देशसञ्चार डटकम

सुमितले पनि यो घटनाबारे पछि मात्रै आफूले थाहा पाएको र त्यसरी अस्मितालाई असर पुग्ने गरी केही नभएको बताए । ‘हामीले दुवैजना त्यो हल्लाका बारेमा अन्जान थियौँ, मैले अस्मिता दिदीलाई केही भनेको थिएन ।’, उनले भने, ‘मलाई कसले के खिचिरहेको छ भन्ने पनि थाहा थिएन ।’

यो समाचार आउँदा दुवैजना अचम्ममा परेको समेत उनीहरुले बताए । र दुवैले दर्शकलाई हल्लाको पछि नलाग्न पनि आग्रह गरे ।

नेपाल आइडल सिजन २ का यी दुई प्रतिस्पर्धी दुवै झापाका हुन् । आइडलको मञ्चमा एकसाथ गीत समेत गाएका दुवै आइडलमा राम्रो प्रतिस्पर्धा दिनेमध्ये गनिएका छन् । केही दिनदेखि सुमित पाठकले अस्मितालाई गाडी चढ्न नदिएको भन्ने अपुष्ट खबर फैलिएपछि अस्मिता र सुमित लाइभ आएर स्पष्टीकरण दिनुपरेको हो ।

https://www.facebook.com/Sumit.Vocalist/videos/2043588749009731/


तपाईंको प्रतिक्रिया